तेजाब प्रहार गर्नेलाई ८ वर्ष कैद र १ लाख जरिवाना « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

तेजाब प्रहार गर्नेलाई ८ वर्ष कैद र १ लाख जरिवाना


१६ फाल्गुन २०७६, शुक्रबार


हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैद र रु १ लाख जरिवाना गर्ने फैसला गरेको छ ।

साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु १ करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ ।

अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई २ वर्ष ६ महिना कैद सजायसहित रु ४० हजार जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए । प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए ।

वीरगञ्ज हुँदै भारत भागेका उनीलाई छ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो । आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस