आठराई गाउँपालिकामा आज सार्वजनिक बिदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आठराई गाउँपालिकामा आज सार्वजनिक बिदा


११ फाल्गुन २०७६, आइतबार


काठमाण्डौं । तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ । प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदै छन् । यसै अवसरमा उनले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ ।

यस्तै, जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्याक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्‍याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस