‘अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’


प्रशासन संवाददाता

९ फाल्गुन २०७६, शुक्रबार


विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रोमत’ दैनिक पत्रिका तथा ‘हाम्रोमत अनलाइन’को आज यहाँ सार्वजनिक गर्दै उनले हाम्रोमत पत्रिका आवाज बिहनीको आवाज बन्न सकोस् भनेर शुभकामना दिए । मन्त्री पुनले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने सञ्चारमाध्यम आलोचनात्मक हुनुपर्ने भन्दै मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्नमा पत्रपत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारे ।

उनले जनताका आवाजलाई एकीकृत गरी पत्रिकाको माध्यमबाट पुनः जनतामाझ नै जाने सञ्चारमाध्यमले अब जनताको नयाँ भावना, आकाङ्क्षालाई बोक्नुपर्ने सुझाव दिए । मुलुकमा स्थिरता कायम राख्न र नेपाली जनताको लोकान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सञ्चारमाध्यमको भूमिका अझ फराकिलो हुनुपर्ने भन्दै मन्त्री पुनले सञ्चारमाध्यमले पनि समयअनुकूल आफूलाई सुधार र परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको लक्ष्य र आकाङ्क्षलाई पूरा गराउन तथा विकास र समृद्धिको यात्रामा आफूलाई ठोस ढङ्गले जोड्न सुझाव दिँदै पत्रपत्रिकामा नकारात्मक मात्र होइन, सकारात्मक कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

नेपाली काँग्रेस प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सञ्चारमाध्यमले जनताको मौलिक हक र अधिकारलाई स्थापना गराउन क्रियाशील रहनुपर्नेमा जोड दिए । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जयराम यादवले समाजमा सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नयाँ प्रारुपमा आएको पत्रिकाले जनताका समस्यालाई उठान गर्न सफलताको शुभकामना दिए । नेपला पत्रकार महासंघ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले प्रेस कानून पत्रकारमैत्री बन्नुपर्ने धारणा राखे । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले पत्रिका सधैँ नेपाली जनताको मन जित्न सफल हुने विचार व्यक्त गरे ।

विसं २०६१ वैशाख ६ गते जनविद्रोह साप्ताहिकबाट शुरु गरिएको सो पत्रिका अहिले ‘हाम्रोमत’मा रुपान्तरण भएको र यसमा लामो समयदेखि योगदान पुर्‍याएका पत्रकार, सम्पादक, संस्थापक र सञ्चारकर्मी शिवकुमार डाँगी, गणेश उप्रेती, नवराज कट्टेल, विनोद घिमिरे, विमल लामिछाने, राजन केडी र रासस सञ्चालक समितिका सदस्य एवं जनविद्रोहका पूर्वसमाचारदाता दयाराम दाहाललाई सम्मान गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस