अमेरिका उड्दै सुरक्षण मुद्रण केन्द्रका निर्देशक पौडेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरिका उड्दै सुरक्षण मुद्रण केन्द्रका निर्देशक पौडेल


९ फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । कमिसनपछि काण्डपछि सर्वत्र चर्चामा रहेको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल आज अमेरिका उड्दैछन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस(सुरक्षण मुद्रण छापाखाना)बारे झुटा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्न खोजेको भन्दै सार्वजनिक लेखा समितिको बैठकले चेतावनीसमेत दिएका कार्यकारी निर्देशक पौडेल दुई हप्ताका लागि अमेरिका उड्न लागेका हुन् । गोलमटोल र अस्पष्ट जवाफ दिएपछि सांसदहरूले गलत जवाफ नदिन सचेत गराएको भोलिपल्टै अर्थात् आज अमेरिका उड्दैछन् ।

फ्रान्स र जर्मनीमा मन्त्रालयका तर्फबाट पटक पटक भएको भ्रमणको खर्च कसले व्यहोरेको भनेर सांसद विरोध खतिवडाले गरेको प्रश्नमा मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले सबै नेपाल सरकारको तर्फबाट भएको जवाफसँगै सांसद खतिवडाले सम्बन्धित कम्पनीले टिकट खर्च व्यहोरेको फेला पर्‍यो भने के हुन्छ ? भन्ने प्रश्नमा कार्यकारी निर्देशक पौडेलले जर्मनी जाँदा नेपाल सरकारले खर्च व्यहोरेको र फ्रान्समा जाँदा आफ्नो टिकट फ्रान्स सरकारले व्यहोरेको भनेका थिए । छिनमै बदलेपछि सांसदहरूले सबै भ्रमणको सही विवरण बुझाउन सचेत गराएका थिए ।

सुरक्षण मुद्रण(सेक्युरिटी प्रेस)को कमिसन काण्डको अडियो सार्वजनिक भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट नै राजीनामा दिनु परेको छ ।

सुरक्षण मुद्रण स्थापनाकै लागि गठन भएकै केन्द्रका कर्मचारीसमेत कमिसन प्रक्रियामा संलग्न भएको र संसद्को समितिमासमेत छलफल चलिरहँदा पौडेलको अमेरिका भ्रमणलाई शंकाष्पद देखिएको मन्त्रालयका एक उच्च अधिकारीको भनाई छ ।

जर्मन कम्पनी भेरिडोसका जर्मन स्थित एजेन्ट फ्लोरियन प्याकुलिनले एमआरपी छपाई क्रममा फ्रेन्च ओबरथर समूहका प्राविधिक रहेर काम गरिसकेको र उनकै चलखेलमा भेरिडोस प्रस्ताव अन्तिम छनोटमा आएको थियो । मेसिन रिडेबल पासपोर्ट(एमआरपी)का डिजाइनर हुन् फ्रान्सेली नागरिक फ्लोरिन प्याकुलिन । केन्द्रका निर्देशक पौडेल र प्याकुलेनले एमआरपीमा सँगै काम गरेकाले उनी दुईको दोस्ती राम्रै छ । सहकर्मी प्याकुलिन भेरिडोसमा आएसँगै उनको भ्रमणलगायत सेटिङ मिलाउन निर्देशक पौडेल लागेका थिए । त्यसो त एमआरपी र इम्बेस्ड नम्बरमा समेत गडबडी भएको समाचार बाहिर आएको थियो ।

अन्तिम दुईको छनौटमा परेको भेरिडोससँग साँठगाँठ जोडिएका केन्द्रका कार्यकारी निर्देशक पौडेललाई पनि छानबिनको दायरामा ल्याउनु पर्ने देखिएको मन्त्रालयका एक अधिकारीको भनाई छ ।

मन्त्रीले नै राजीनामा दिनुपर्ने गरी घटना सार्वजनिक भई रहँदा र सार्वजनिक लेखा समितिमा छलफल चलिरहँदा केन्द्रको प्रमुख व्यक्ति नै किन भोलिपल्टै अमेरिका ? भन्ने प्रशासनको प्रश्नमा उनले आफ्नो अमेरिका भ्रमण नितान्त पारिवारिक भएको बताए ।

मेरो श्रीमती र छोराछोरी अमेरिकामै छन् शिवरात्रिको बिदालाईसमेत मध्यनजर गरेर भेटघाटका लागि जान लागेको हुँ, निर्देशक पौडेलले भने, कमिसन अडियो प्रकरणमा मेरो कुनै संलग्नता छैन ।

आफूले पहिले नै बिदाका लागि फाइल पेस गरेको तर सचिवले सार्वजनिक लेखा समितिको बैठकपछि मात्र जान भनेपछि आज जान लागेको बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस