क्रान्तिको बिगुल फुक्दै जनसरकार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्रान्तिको बिगुल फुक्दै जनसरकार


७ फाल्गुन २०७६, बुधबार


बागलुङ । विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए – ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद ।’ निरङ्कुश व्यवस्थाका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता थिए, ओमप्रसाद गौचन ।

त्यो नै प्रजातन्त्र प्राप्तिका लागि बागलुङबाट उठेको पहिलो आन्दोलन थियो । तीन दिनमै आन्दोलन उत्कर्षमा पुग्यो । तर, प्रजातन्त्र ल्याउने सपना भने पूरा भएन । सरकारी फौजको सहयोगमा तत्कालीन शासकले पुनः बागलुङलाई कब्जा गरे ।

बागलुङ त्यसबेला पाल्पा गौंडाको प्रशासनिक एकाइका रुपमा थियो । क्रान्तिका पक्षधर युवा जमात आन्दोलनको नेतृत्वबाट पछि हटेनन् । बागलुङवासी फेरि जुर्मुराए । आन्दोलन चर्किंदै गयो । विसं २००७ माघ १५ मा बागलुङ जनताको नियन्त्रणमा आयो ।

गौचनको नेतृत्वमा बागलुङ जनसरकार बन्यो । गौचन प्रधानमन्त्री रहेको मन्त्रिमण्डलमा कालीभक्त पन्तलाई उपप्रधानमन्त्री, चन्द्रमान थकालीलाई अर्थलगायत अन्य व्यक्तिलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकियो ।

‘बागलुङको ऐतिहासिक घटना’ पुस्तकका लेखक एवं अन्वेषक प्रेम छोटाका अनुसार जनसरकार विसं २००८ भदौसम्म चल्यो । बागलुङ पाल्पा गौंडाको अधीनमा रहने भनी पाल्पाबाट आएका सरकारी अधिकृत र फौजले बागलुङ जनसरकारलाई भङ्ग गरेका थिए ।

विसं २००७ फागुन ७ मा प्रजातन्त्र उदय भएपछि पनि बागलुङ पाल्पा बडी गौंडाको अधीनमा रहिरहने कुरा पाल्पाबाट आएपछि त्यसको विरोध भयो । विघटित जनसरकारका ग्राम विकास मन्त्री मोहनबहादुर मल्ललगायतका प्रतिनिधि काठमाडौँ पुगे ।

बागलुङको वस्तुस्थितिबारे जानकारी गराए । बागलुङलाई स्वायत्त शासन प्रणाली भएको ‘बागलुङ गौंडा’मा परिणत गराउनुपर्ने माग राखे । केन्द्रबाट माग पूरा भयो । विसं २००८ फागुन ८ गतेदेखि बागलुङ पाल्पा बडी गौंडाबाट मुक्त भई स्वतन्त्र ‘बागलुङ गौंडा’ बन्यो ।

त्यसअघि बागलुङ पाल्पा बडी गौंडा अन्तर्गत छोटी गौंडाको हैसियतमा थियो । यसरी विसं १९९६ देखि नै बागलुङमा पलाएको राणा विरोधी आक्रोशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शुरुआती योगदान दिएको थियो ।

‘विसं २००७ सालमा बागलुङबाट पहिलोपटक आन्दोलनको नेतृत्व गर्ने व्यक्ति ओमप्रसाद गौचन नै छन्,’ प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय सदस्य गोविन्दप्रसाद शर्मा कँडेलले भने,‘उनलाई कालीभक्त पन्त, चन्द्रमान शेरचन, टेक नारायण भारी, हेमलाल राजभण्डारीलगायतका तत्कालीन युवाले साथ दिए ।’

आफू विसं २०१३ देखि सक्रिय राजनीतिमा लागेको र विसं २०१७ पछि पञ्चायत विरुद्धको आन्दोलनमा होमिएको उनले स्मरण गरे । ‘प्रजातन्त्र प्राप्तिदेखि मुलुकका हरेक आन्दोलनमा बागलुङको उल्लेख्य योगदान छ,’ पूर्वसासंदसमेत रहेका कँडेलले भने, ‘सङ्घर्षको इतिहासलाई कसैले बिर्सन हुँदैन ।’

गौचनलगायतले ल्याएको राजनीतिक जागरणले आन्दोलनलाई सघाएको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ बताउँछन् । उनका अनुसार बागलुङ अदालतका तत्कालीन डिठ्ठा धर्ममानसिंह श्रेष्ठलाई घुस खाएको आरोपमा राणाका आठपहरियाहरुले पक्राउ गरेका थिए । निर्दोष डिठ्ठा श्रेष्ठको पक्राउको विरोध गरेकै कारण राणा शासकहरुले ओमप्रसाद गौचनलगायतलाई पक्राउ गरी पाल्पा जेलमा १६ दिनसम्म राखे ।

शिक्षा र राजनीतिमा त्यतिबेला गनिएको पाल्पा रहँदा, बस्दा गौचनलगायत उनका समकालीनले ज्ञान र जागरण प्राप्त गरे । गौचनकै पहलमा वि.सं १९९७ मा बागलुङमा विद्यालय र विसं २००३ मा पुस्तकालय खोलिनुले पनि राजनीतिक चेतना बढाउनमा टेवा पुर्‍याएको संयोजक श्रेष्ठको बुझाइ छ ।

यहाँका तत्कालीन चौबिसे राज्य अन्तर्गतका गलकोटे राजा भरतबम मल्ल र उनका छोरो थीरबम मल्लले पनि विसं २००७ को क्रान्तिमा महत्वपूर्ण योगदान दिएका थिए । भारतको सैनिक शिक्षालयमा पढेका थीरबमले राणा विरोधी आन्दोलनका क्रममा वीरगञ्जमा शहादत प्राप्त गरेका थिए । ‘थीरबम मल्ल मुक्ति सेनाको कमाण्डर थिए, सङ्घर्षकै क्रममा उनको शहादत भयो,’ इतिहासका अध्येतासमेत रहेका श्रेष्ठले भने ।

शहीद थीरबम मल्ल काँग्रेस नेता वी पी कोइरालाका विश्वासपात्र र साहसी सैन्य कमाण्डर थिए । मल्लको शहादतपछि बागलुङमा राणा विरोधी भावना झन् चर्केको पाइन्छ । राष्ट्रिय प्रजा परिषद् हुँदै सशस्त्र क्रान्तिको चरणमा नेपाली काँग्रेस आइपुग्दा बागलुङमा त्यसको नेतृत्व गौचनले गरेका थिए ।

मुस्ताङको थाकखोलामा जन्मी बागलुङलाई कर्मथलो बनाएका गौचनको स्मृतिग्रन्थमा तत्कालीन कम्युनिष्ट नेता देवेन्द्रराज अधिकारी लेख्छन् ‘बागलुङमा त्यसबेला काँग्रेसको अर्थ हुन्थ्यो, काका ओमप्रसाद ।’

त्यो बेला गौचनलाई अधिकाँशले ओमप्रसाद काका भनेर बोलाउने गर्थे । निर्भिक, न्यायप्रेमी र सच्चा प्रजातन्त्रवादीका रुपमा गौचनलाई अहिले पनि सम्झना गरिन्छ । छिमेकी जिल्ला पर्वतमा कालीभक्त पन्त, मोहनबहादुर मल्ललगायतले प्रजातान्त्रिक आन्दोलनको शुरुआत गरेका थिए । सशस्त्र बल प्रयोगबाट पर्वतलाई मुक्त गर्नमा पन्तकै प्रमुख भूमिका रहेको बताइन्छ ।

विसं २००७ मै पाल्पाबाट बागलुङ आउनुभएका पुष्पलाल श्रेष्ठका बहिनी ज्वाइँ चिरञ्जीवीलाल वैद्यले गठन गरेको ‘बागलुङ युवक सङ्घ’ ले पनि क्रान्ति र आन्दोलनप्रति जागरण सिर्जना गरेको थियो । यस्तै, महिला सशक्तीकरणको मुद्दा पनि विसं २००७ सालकै क्रान्तिको जगबाट शुरु भएको मानिन्छ ।

आन्दोलनको जगबाट प्राप्त प्रजातन्त्र विसं २०१७ पुस १ गते खोसियो । ससंद् भङ्ग भयो । दल र सङ्घसंस्थामाथि प्रतिबन्ध लाग्यो । मुलुकमा पञ्चायती व्यवस्था शुरु भयो । पञ्चायत विरोधी दलहरु आन्दोलनमा होमिए । त्यसयताका हरेक प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनमा बागलुङको विशिष्ट स्थान रहेको बताउनुहुन्छ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का पुराना नेता मोहनलाल शर्मा ।

नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको प्रेरणाबाट विसं २०२४ देखि वाम आन्दोलनमा सक्रिय शर्माले सात सालको परिवर्तनमा तत्कालीन बुद्धिजीवी र राजनीतिक अगुवाले गरेको सङ्घर्षलाई कसैले भुल्न नहुने उल्लेख गरे । ‘पञ्चायती व्यवस्था शुरु भएपछि आन्दोलन पेचिलो भयो, जेलनेल र यातना भोग्नुपर्ने अवस्था आयो,’ उनले भने ।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा वाम शक्तिका तर्फबाट नेता चित्रबहादुर केसीलगायतले लामो सयमसम्म योगदान दिएको स्मरण उनले सुनाए । विसं २०३६ को विद्यार्थी आन्दोलन, विसं २०४६ को आन्दोलन, माओवादी सशस्त्र सङ्घर्षदेखि विसं ०६२÷६३ को जनआन्दोलनसम्म बागलुङले राम्रो छवि कायम गरेको शर्माको भनाइ छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीद्वारा सञ्चालित सशस्त्र सङ्घर्षमासमेत बागलुङ अग्रणी भूमिकामा थियो । त्यस सङ्घर्षमा जिल्लाबाट ९६ जना शहीद र २० जना बेपत्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस