‘समृद्धिको मूल आधार संघीयता’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘समृद्धिको मूल आधार संघीयता’


प्रशासन संवाददाता

२६ माघ २०७६, आइतबार


मङ्गलबारे । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार भनेको नै संघीयता भएको बताएका छन् ।

इलाममा आजदेखि शुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को उद्घाटनका क्रममा उनले नाटक पनि संघीयता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको बताए ।

विकास निर्माणमा सडक र भौतिक पूर्वाधारमा मात्र विकास गरेर नहुने उल्लेख गर्दै उनले कला र सङ्गीतको पनि उत्तिकै विकास गर्न लाग्नुपर्नेमा जोड दिए । ‘गीत, सङ्गीत, पहिचान र कलालाई समृद्धिको मूल आधार बनाउनुपर्छ’, उनले भने ।

महोत्सव आगामी फागुन १ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । सातवटै प्रदेशको मौलिक लोक कथाको खोजी गरी छनोट भएर आएका नाटक महोत्सवमा प्रस्तुत गरिनेछन् । महोत्वमा सातै प्रदेशका एक/एक मौलिक नाटक मञ्चन गरिने र प्रत्येक दिन नाटककै बारेमा कार्यशालासमेत गरिनेछ । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, सङ्गीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव शुरु गरिएको हो ।

संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी महोत्सवमा मञ्चन गरिने नाटक छनोट गरेको छ । त्यसमा आयोजक संस्थाले थप अर्को नाटक पनि मञ्चन गर्नेछ । प्रदेश नं १ बाट ‘सुम्निमा–पारुहाङ’, प्रदेश नं २ बाट ‘कनन हरलता’, वाग्मती प्रदेशबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकी प्रदेशबाट ‘नमबुद्ध’, प्रदेश नं ५ बाट ‘कुजरी’ कर्णाली प्रदेशबाट ‘छैँटी’ र सुदूरपश्चिम प्रदेशबाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ । आयोजकका तर्फबाट ‘थान’ नाटक मञ्चन हुने प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस