एभोकाडोको खेती तथा बजार विस्तार हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एभोकाडोको खेती तथा बजार विस्तार हुँदै


२० माघ २०७६, सोमबार


काठमाडौं । इलाम बजारका फलफूल व्यापारी बालकुमार पोख्रेलले बेच्नका लागि जति एभोकाडो खोजे तर मागअनुसार पाउन सकेनन् ।

एक विशेष प्रकारको फलका रुपमा परिचित एभोकाडोको उत्पादन कम भएको र यसको माग बढी भएका कारण उनले चाहे जति पाउन सकेनन् नौनी घिउको जस्तो स्वाद भएको यो फल स्वास्थ्य र पोषणका लागि एकदमै राम्रो मानिन्छ ।

व्यापारी पोख्रेलले इलाममा एभोकाडो उत्पादन हुने ठाउँका किसानसँग जति माग गरे पनि नपाएको बताए । बोटमा फूल लागेदेखि नै आएर बाहिरका व्यापारीहरुले बोटमा नै मोलमोलाइ गरेर खरिद गर्ने भएकाले पनि जिल्लामा यो फल खासै नपाइने गरेको रोङ गाउँपालिकाका गोविन्द पौडेलको भनाइ छ ।

इलाममा उत्पादन भएको फल, झापा, विराटनगर, काठमाडौंमा क्षेत्रमा लैजाने गरेको उनले बताए। झापाको कांकरभिट्टा र इलामको पशुपतिनगर हुँदै भारतको दार्जिलिङ, सिलिगुडीलगायत बजारमा समेत जाने गरेको छ तर जिल्लाबाहिरका बजारमा समेत मागअनुसार फल पुर्‍याउन नसकिएको किसानको भनाइ छ ।

‘विदेश गएर आएकाहरुले बढी रुचाउने रहेछन्’, व्यापारी पोख्रेलले भने । वैदेशिक रोजगारीमा गएर आएकाहरु यो फलबारे जानकार हुने तर विदेशमा यसको दाम महँगो भएका कारण खासै नखाने गरेको दुवैमा रोजगारीमा रहेका डिल्ली आचार्यले बताए । उनका अनुसार विदेशका आफ्ना मालिकहरुले आफ्ना छोराछोरीलाई खोजीखोजी ख्वाउने स्मरण गर्दै भने, ‘यो त निकै राम्रो फल हो नि ! यस्तो फल नेपालमा नै पाइन थालेछ ।’ स्वास्थ्यमा राम्रो गर्ने र दिमाग बढाउने भन्दै विदेशीहरुले सो फल आफू र आफ्ना सन्तानहरुलाई ख्वाउने उनले बताए । रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण यसलाई राम्रो फलका रुपमा लिइने गरिन्छ ।

यो फलको महत्व बढी भए पनि धेरैलाई यसको स्वाद मन पर्दैन । फलफूलको महत्व बुझ्ने, अनि एभोकाडो चिन्नेहरुले मात्र यो फल खरिद गर्ने गरेको व्यापारीहरुको भनाइ छ । नयाँ फल भएका कारण पनि यसको महत्व उपभोक्ताहरुलाई बुझाउन समस्या पर्ने गरेको व्यापारीहरुको भनाइ छ ।

केही समयअघि स्वादहीन भनेर खेर जाने एभोकाडोको अहिले इलाममा व्यावसायिक उत्पादन नै शुरु भएको छ तर पनि उपभोक्ताले मागअनुसार पाउन सकिरहेका छैनन् । नेपाली जनजिब्रोमा घिउफल भनेर चिनिने एभोकाडो इलाममा २०४५ सालमा जिल्लाको रोङ गाउँपालिकामा पहिला रोपिएको मानिन्छ । रोङगाउँपालिका सलकपुरका किसान रोमस अधिकारीले धनकुटाबाट यसको बीउ ल्याएर रोपेको बताइएको छ । सो बिरुवाले हाल धमाधम आम्दानी दिन थालेको उनले बताए ।

रोङ गाउँपालिकाका धेरै किसानले हाल यसको व्यावसायिक खेती शुरु गरेका छन् । सो गाउँपालिकाको जिर्मलेबाहेक इलामका अन्य भूभागमा समेत यसको खेती विस्तार हुँदै गएको छ । पछिल्लो समय जिल्लाभित्र पनि यसको महत्व तथा स्वाद मन पराउने उपभोक्ताहरुको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ ।

जिल्लामा सबैभन्दा पहिला रोङ गाउँपालिकाबाट नै यसको खेती शुरु भएकाले पनि सो स्थानमा सबैभन्दा बढी खेती गर्ने किसानको सङ्ख्या बढी छ तर जिल्लाका अन्य स्थानमा पनि परीक्षणका रुपमा गरिँदै आएको खेतीबाट राम्रो आम्दानी हुन थालेको किसान बताउँछन् । जिल्लाको माईजोगमाईको सोयाङ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिकाको सुलुबुङमा समेत यसको व्यावसायिक खेती शुरु भएको छ ।

खेती र यसको महत्व बुझेर आउने किसानलाई समेत माग पुर्‍याउन नसकिएको सलकपुरका किसान याम अधिकारीले बताए । अहिले सलकपुर आउने पर्यटकले यसको धेरै माग गर्ने गरेको भए पनि मागअनुसार उत्पादन नभएको उनले बताए । शुरुमा धेरैलाई यसको महत्व थाहा नभएको र वास्ता नगर्ने भए पनि हाल बोटबाट नै मोलमोलाइ शुरु भएको उनको भनाइ छ ।

किसान ईश्वरी अधिकारीले गएको वर्ष एउटै बोटलाई ५० हजारमा बेच्नुभएको थियो तर यस वर्ष बोटमा रोग लागेका कारण त्यसको आधा रकम अर्थात् २५ हजारमा मात्र बिक्री गरेको बताए । यसको रूख ठूलो हुने, पाखाबारीमा समेत लगाउन सकिने साथै सिमसार र खोल्सामा समेत रोप्न सकिने भएकाले पनि किसान यस खेतीप्रति आकर्षित भएका हुन् । यसको गाईभैँसीलाई घाँससमेत ख्वाउन सकिन्छ । वस्तुले समेत अत्यन्तै रुचाएर यसको घाँस खाने गरेका छन् । आवश्यकता परेको बेलामा काठ र दाउरा समेत प्रयोग गर्न सकिन्छ ।

ठूलो रूख हुने भएकाले यसको एउटै रूखमा ३/४ सय किलोग्रामसम्म फल उत्पादन हुने गरेको छ । एभोकाडोको बिक्री मूल्यसमेत राम्रो छ । बोटबाट नै व्यापारीहरुले प्रतिकिलो २०० देखि २५० रुपैयाँमा खरिद गर्ने गरेका छन् ।

रोङ गाउँपालिकामा यसलाई सुहाउँदो हावापानी भएका कारण धेरैजसो उत्पादन सोही गाउँपालिकाबाट हुने गरेको छ । गाउँपालिकाले गएको बर्खामा २३० वटा बिरुवा खरिद गरी ल्याएर किसानलाई उपलब्ध गराएको थियो । प्रतिगोटा रु ८० पर्ने बिरुवाको नर्सरी भने जिल्लामा शुरु भएको छैन । भर्खरैदेखि उत्पादन शुरु भएका कारण पनि यसको जातबारे इलामका किसानलाई थाहा छैन तर यसको आकार र स्वाद भने फरकफरक हुने गरेको छ ।

रोङको सबै वडामा उत्पादन हुन सक्ने यो फलको बिरुवा स्थानीयस्तरमा पनि उत्पादन हुनथालेको छ । यस वर्ष पनि किसानलाई उपलब्ध गराउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताए । किसानको बारीमा कति छ ? कति उत्पादन हुन्छ भनेर तथ्याङ्क लिने गृहकार्य भइरहेको अध्यक्ष राईले बताए ।

नेपालमा एभोकाडो तथा नौनी घिउ भनेर चिनिने यो फलमध्ये अमेरिका र मेक्सिकोमा उत्पत्ति भएको उष्ण प्रदेशीय राम्रो नगदेबालीका रुपमा परिचित छ । यो समुद्र सतहबाट ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा गर्न सकिन्छ । मानव स्वास्थ्यका लागि आवश्यक चिल्लो र कार्बोहाइड्रेट यस फलबाट पाइने गरेको छ ।

बिरुवा रोपेको चार वर्षदेखि ५० वर्षसम्म आम्दामी दिने बताइएको छ । यसको एउटा फल दुईदेखि चार सय ग्रामसम्मको हुने गरेको छ । एभोकाडोमा मानव शरीरका लागि आवश्यक मानिने सबै प्रकारको भिटामिनहरु र मिनिरल पाइने विज्ञहरुको भनाइ छ । स्थानीय सरकारले यस खेती प्रवर्द्धन गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । यस फललाई प्रवद्र्धन गर्न सके विदेश पलायन हुने युवायुवतीलाई नेपालमा नै रोक्न सकिने थियो कि ?

Tags :
प्रतिक्रिया दिनुहोस