प्रमुख निर्वाचन आयुक्त थपलिया ‘खाँदबारी गौरव’बाट सम्मानित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रमुख निर्वाचन आयुक्त थपलिया ‘खाँदबारी गौरव’बाट सम्मानित


१९ माघ २०७६, आइतबार


खाँदबारी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र पूर्व गृह सचिव प्रेमकुमार राई आफ्नो गृहजिल्ला सङ्खुवासभामा विभूषित भएका छन् ।

खाँदबारी नगरपालिकाले शनिबार उनीहरु लगायत विभिन्न सात विधामा २६ जना आफ्ना नगरबासीलाई विभूषण र पदकले सम्मान गरेको हो । उनीहरुलाई नगरसभाबाट विभूषणसम्बन्धी ऐन जारी गरी पहिलोपटक विभूषित गरेको जनाइएको छ ।

‘खाँदबारी गौरव’ पदकबाट प्रमुख निर्वाचन आयुक्त थपलिया र पूर्वसचिव स्व सन्तबहादुर राईलाई विभूषित गरिएको छ । देशकै प्रतिष्ठा बढाउन योगदान पुर्‍याउने नगरवासीलाई नगरपालिकाको विभूषणसम्बन्धी ऐनल्याई सम्मान गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।

सोही अवसरमा खाँदबारी रत्न, खाँदबारी तारा, खाँदबारी पौरख, खाँदबारी ज्योति, खाँदबारी समाजसेवा र खाँदबारी सेवाश्री पद २६ जनालाई प्रदान गरिएको छ ।

‘खाँदबारी रत्न’ पदकबाट खाँदबारी–१ निवासी पूर्वगृहसचिव प्रेमकुमार राई, स्व दुर्गादेवी घिमिरे, खाँदबारी नगरपालिकाका प्रथम प्रमुख स्व किरण शाक्यलाई विभूषित गरिएको छ । घिमिरे र शाक्यलाई मरणोपरान्त सम्मान गरिएको हो । ‘खाँदबारी तारा’ पदक स्व लोकगायक खेमराज गुरुङ, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, संयुक्त राष्ट्रसङ्घका स्थायी प्रनिनिधि अमृत राई, डा हिरामणि घिमिरे, लोकगायक नवीन खड्कालाई प्रदान गरिएको छ ।

‘खाँदबारी ज्योति’ पदक डा बीना राई, जयप्रसाद चापागार्इं, हरिप्रसाद भण्डारी, कृष्ण गोपाल, सोमराज अभयलाई विभूषित गरिएको छ । यसैगरी ‘खाँदबारी पौरख’ पदक जगत शाक्य, लक्ष्मीप्रसाद गुरुङ, चक्र बिसुन्के र ‘खाँदबारी समाजसेवाश्री’ सूर्यबहादुर श्रेष्ठ, जयबहादुर श्रेष्ठलाई सम्मानित गरिएको थियो । त्यसैगरी ‘खाँदबारी सेवाश्री’ बीनाकुमारी शाक्य, बिष्णु बुढाथोकी, मदन अर्याल, खेमराज नेपाल, सुरेन्द्र विष्ट र नइन्द्र मगरलाई विभूषित गरिएको छ ।

विसं २०५३ मा स्थापना भएको खाँदबारी नगरपालिकाले स्थापना दिवसको अवसरमा मेयरकप भलिबल प्रतियोगिता, उपमेयरकप कबड्डी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस