चीनको हुवेईमा रहेका नेपालीको उद्धार गर्न विशेष विमान पठाउँदै सरकार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनको हुवेईमा रहेका नेपालीको उद्धार गर्न विशेष विमान पठाउँदै सरकार


१९ माघ २०७६, आइतबार


काठमाडौंँ । चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकको उद्धार गर्न नेपाल सरकारले विशेष विमान पठाउने भएको छ। कोरोना भाइरस सङ्क्रमण सुरु भएको चीनको हुवेई प्रान्तमा रहेका सबै नेपालीको उद्धार गर्न सरकारले विमान पठाउन लागेको हो।

बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना जारी गर्दै हुबेईमा रहेका नेपालीको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई सम्पर्कमा आउन भनेको छ।

यसअघि त्यस क्षेत्रमा रहेका नेपालीले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए।

नेपालीको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने सूचनामा जनाइएको छ।

चीनसहित २० देशमा कोरोना भाइरस संक्रमण भएपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य संकट’ घोषणा गरेको छ।

चीनमा ११,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ।

चीनबाहिर नेपालसहित २२ देशमा १०० जनाभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको विवरण प्राप्त भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस