मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ : पूर्वराष्ट्रपति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ : पूर्वराष्ट्रपति


प्रशासन संवाददाता

१५ माघ २०७६, बुधबार


दमौली । पूर्वराष्ट्रपति डा.रामवरण यादवले तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज मानहुँकोटको अवलोकन भ्रमण गर्दै पूर्वराष्ट्रपति यादवले मानहुँकोटको ऐतिहासिक महत्व रहेकाले यसको प्रवर्द्धनमा जुट्नुपर्ने बताए ।

मगर समुदायको बाक्लो बस्ती रहेको मानहुँकोटमा पर्यटकीय पूर्वाधार निर्माण गर्नसके स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने तर्क गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘मानहुँकोटको भविष्य सुन्दर छ, यसको प्रवर्द्धनमा स्थानीय सरकार थप सक्रिय भएर लाग्नुपर्छ ।’ धर्म, संस्कृतिको संरक्षण र पर्यटकीयस्थलको प्रचारप्रसारले मात्रै नेपाल भ्रमण वर्ष २०२० सफल हुने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा पूर्व राष्ट्रपति यादवले सुझाव दिए ।

पछाडि परेका समुदायलाई मूलधारमा ल्याउनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति यादवले सामूहिक भावनाले मात्रै राष्ट्र बलियो हुने चर्चा गरे। सबै जातजातिबीच आपसी समझदारी र सामूहिक भावनाले राष्ट्रियता थप मजबुद हुने पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।

सो क्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटको विकासका लागि नगरपालिकाले पहल गरिरहेको जानकारी गराए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबैको दायित्व भएकाले वडाले पनि यस अभियानलाई सफल पार्न धेरैभन्दा धेरै पर्यटक मानहुँकोटमा भित्र्याउने लक्ष्य राखेको श्रेष्ठले बताए ।

मानहुँकोटबाट दमौली बजारलगायत आसपासका क्षेत्र छर्लङ्ग देखिन्छ । मानहुँडाँडा आफैँमा एउटा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँ प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । यसैगरी पूर्वराष्ट्रपति यादवले आज नै व्यास–परासर क्षेत्रकोसमेत अवलोकन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस