धरौटीमा छुटिन् आस्था राउत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धरौटीमा छुटिन् आस्था राउत


१४ माघ २०७६, मंगलबार


काठमाडौं । गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उनीमाथि अनुसन्धान गर्न ४ दिनको समय दिइएको थियो ।

यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

उजुरीका आधारमा राउतविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस