शिखर नगरपालिकाद्वारा २५ बुँदे प्रतिबद्धतामा हस्ताक्षर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शिखर नगरपालिकाद्वारा २५ बुँदे प्रतिबद्धतामा हस्ताक्षर


१४ माघ २०७६, मंगलबार


डोटी । शिखर नगरपालिका डोटीले एकीकृत स्वास्थ्य तथा पोषण युक्त नगर घोषणाका लागि २५ बुँदे पत्रमा हस्ताक्षर गर्दै प्रतिबद्धता जनाएको छ ।

शिखर नगरपालिका डोटी, वहुक्षेत्रिय पोषण कार्यक्रम र सु आहारा कार्यक्रमको संयुक्त रूपमा शनिवार आयोजित एक कार्यक्रम पश्चात् नगरपालिकाले स्वास्थ्य क्षेत्रमा आवश्यक योजनाहरू निमार्ण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता सहित पत्रमा हस्ताक्षर गरेको हो ।

नगरपालिकाले पोषण र सुनौला हजार दिनका महिला र बालबालिकाका लागि लगानी गर्ने कसिमका कार्यक्रम ल्याउने शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने ‘ नेपालको संविधान अनुसार प्रत्येक नागरिकले निःशुल्क रूपमा स्वास्थ्य सुविधा पाउनु संवैधानिक अधिकार हो त्यसैले सबै नगरवासीले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउन भन्ने मेरो ध्येय हो स्वास्थ्य क्षेत्रमा योजना सहित अगाडी बढ्छु ’।

नगरपालिकामा स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार, दक्ष जनशक्ति भएमा मात्र नगर समृद्ध हुने भएकाले यसमा विशेष ध्यान दिने समेत नगरप्रमुख जोशीले बताए ।

‘स्वस्थ्य आमा, पोषित बच्चा हाम्रो रहर, बनाऊ हाम्रो शिखर नगरपालिकालाई स्वस्थ्य समृद्ध र सुन्दर’ भन्ने मूल नाराका साथ गरिएको प्रतिबद्धतामा पत्रमा आमा,समुदाय र सुनौला हजार दिनका बालबालिकाहरूका लागि विशेष प्रकारका कार्यक्रम ल्याउने, नगरपालिकामा १५ शैयाको अस्पतालका साथै नगरका वडाहरूमा रहेका स्वास्थ्य संस्थालाई स्तरोउन्नती र दक्ष कर्मचारीको व्यवस्थापन गर्ने, संस्थागत प्रस्तुतिमा वृद्धि गर्ने, खोपको मात्रामा वृद्धि गरी १००५ पुगाउने प्रतिबद्धता जनाएको छ ।

त्यसै गरी नगरपालिका भित्र हुने बालविवाहलाई निरुत्साहित गर्ने, कम उमेरमा बच्चा जन्माउन रोक्ने, स्थानीय बाली उत्पादनमा जोड दिने, महिनावारी र सुत्केरी भएका समयमा व्याप्त छुवाछुतको न्यूनीकरण गर्ने, पोषणलाई ध्यानमा राखेर एक घर एक करेसाबारी अनि एक घर एक फलफूल बिरुवा अभियान सञ्चालन गर्ने, नगरपालिकामा स्तनपान कक्षको स्थापना गर्ने लगायतका २५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको शिखर नगरपालिका स्वास्थ्य इकाई सह प्रमुख दिल बहादुर रावलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस