पत्रकार बन्न परीक्षा दिनुपर्ने - प्रशासन प्रशासन
prasaLogo
१४ माघ २०७६, मंगलवार

पत्रकार बन्न परीक्षा दिनुपर्ने


प्रकाशित मिति : 28 January, 2020 7:27 am

काठमाडौँ । अबदेखि पत्रकार बन्न परीक्षा दिनुपर्ने व्यवस्था गरिने भएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारिता पेशामा नयाँ प्रवेश गर्नेका लागि सो व्यवस्था गरिन लागिएको हो ।

‘न्यूनतम व्यावसायिक परीक्षा लिने हो, विश्वविद्यालयबाट पत्रकारिता पढेर आएकै हुन्छन्’, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘व्यावसायिक पत्रकारिता र आचारसंहिताका विषयमा परीक्षा लिने हो, पेशागत शुद्धताका लागि यसले सहयोग पर्‍याउनेछ ।’

पत्रकारिता क्षेत्रमा हाल काम गरिरहेकाले भने स्वतः लाइसेन्स पाउनेछन् । नयाँ प्रवेशीका लागि काउन्सिलले पत्रकारिता प्रवेश अनुमतिपत्र (लाइसेन्स) का लागि जाँच लिनेछ । काउन्सिलले पाठ्यक्रम बनाएर उक्त व्यवस्था तय गर्नेछ ।

काउन्सिलमा अध्यक्षसहित ११ सदस्य हुनेछन् । अध्यक्ष सरकारले नियुक्ति गर्नेछ । प्रत्येक प्रदेशको प्रतिनिधित्व गर्दै कम्तीमा दुई जना महिलासहित सात, पत्रकारिताका प्राध्यापकबाट एक, मन्त्रालयले तोकेको एक र नेपाल पत्रकार महासङ्घका अध्यक्ष पदेन सदस्य रहने विधेयकमा व्यवस्था गरिएको छ ।

काउन्सिलको अध्यक्षका लागि सर्वोच्च अदालतका न्यायाधीश हुन योग्यता पुगेको वा पत्रकारिताका क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभवसहित विशिष्ट योगदान गरेको हुनुपर्ने व्यवस्था छ । सदस्यमा भने आमसञ्चार क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव हासिल गरेको र स्नातकसम्मको अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले केही प्रावधानमा संशोधनसहित सोमबार पास गरेको सो विधेयकमा काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्नेलाई पहिला सचेत गराउने छ । सचेत गराउँदा पनि नभए पत्रकारको दर्ता प्रमाणपत्र निलम्वन गर्नेछ भने त्यति गर्दा पनि आचारसंहिता उल्लङ्घन गरेमा पत्रकारको दर्ता प्रमाणपत्र खारेज गर्नेछ ।

पत्रकारलाई चित्त नबुझेमा अदालत जान पाउने व्यवस्था छ । विधेयकमा दण्ड तथा क्षतिपूर्ति दिनसक्ने व्यवस्था हटाइएको छ । समितिमा सभापति पर्शुराममेघी गुरुङले पत्रकारितामा लाइसेन्सको लागि परीक्षा दिनुपर्ने व्यवस्थाले पत्रकारिता पढेका व्यक्तिले प्राथमिकता पाउने र व्यावसायिक पत्रकारिताको अभ्यास हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस