स्थानीय तह शिक्षा अधिकृत छैठौँ : अन्तरवार्ता र सामूहिक छलफल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्थानीय तह शिक्षा अधिकृत छैठौँ : अन्तरवार्ता र सामूहिक छलफल


२५ पुस २०७६, शुक्रबार


विभिन्न प्रकारका जागिरका लागि अन्तरवार्ता लिने प्रचलन रहेको छ । यो आलेख खासगरी लोक सेवा आयोगले हालैमात्र नतिजा प्रकाशन गरेको स्थानीय तह शिक्षा अधिकृत छैठौँको अन्तरवार्ताका लागि तयार गरिएको छ । म आलेख अन्तर्वार्ता कसरी दिने भन्ने विज्ञ र जान्ने भन्दा पनि आफैले अन्तर्वार्ता दिंदाका वखत गरेका अनुभव, अन्तरवार्तामा सहभागी भएका साथीहरूको अनुभव र आयोगको निर्देशिकामा उल्लेख भएका बुँदाका आधारमा तयार गर्दैछु । लोक सेवा आयोगको लिखितमा नाम निस्किएका धेरै साथीहरुले फोन र फेसबुक म्यासेन्जरबाट अन्तर्वार्ता तयारीमा के गर्ने भनेर सोधिरहनु भएको हुनाले वहाँहरुका लागि यो आलेख तयार पारिएको हो । यो आलेखमा अन्तर्वार्ताको तयारी कसरी गर्ने र अन्तर्वार्तामा कसरी प्रस्तुत हुने सम्बन्धमा केही सामान्य बुझाई र अनुभव प्रस्तुत गरिएको छ । यसमा प्रस्तुत कुराहरू संधै सबै सन्दर्भमा लागू नहुन पनि सक्छन् र यी नै सबै अन्तिम सत्य पनि होइनन् ।

‘अन्तर्वार्ता खासगरी व्यक्तिको प्रस्तुति, अन्य व्यक्तिहरूसँग प्रस्तुत हुँदाको शैली र व्यक्तिमा भएको आत्मविश्वासी पन हेर्ने माध्यम हो ।’

अन्तर्वार्तामा प्रस्तुत हुँदा सकेसम्म आफू प्राकृतिक रुपमा जे जस्तो हो, त्यहिँ रुपमा प्रस्तुत हुनु आवश्यक हुन्छ । सधै जस्तो पोसाक लगाइन्छ, त्यस्तै लगाउने, सधैँ जस्तो बोलिन्छ त्यस्तै बोल्ने । कृत्रिमता र नक्कल नगर्ने ।

अन्तर्वार्तामा जाने भनेर नयाँ कपडा किन्ने, सिलाउने नर्गनुस् । त्यसो भनेर पुरानो झुत्रो लगाउने भन्ने पनि होइन । तपाईँ सँधै अथवा प्रायजसो जस्तो कपडा लगाउनु हुन्छ त्यस्तै लगाउनुस् । सेन्ट नर्छनुस् । कपाल नछोट्याउनुस् । अर्थात नयाँ कुरा नर्गनुस् । तपाईँ सधै जस्तो हो त्यस्तै प्रस्तुत हुनु राम्रो हुन्छ । सधैँ नै सेन्ट छरेर नै हिड्ने गरेका छन् भने आयोगको अन्तरवार्तामा जानैका लागि भनेर नछर्नु पनि पर्दैन तर सेन्टको गुणस्तरले प्रभाव पार्ला ।

कतिपयले अन्तर्वार्तामा बोल्दा कृत्रिमता ल्याउन खोज्ने र बोलि बङ्गाउने गरेको पनि पाइन्छ । यो एकदमै गलत हो । तपाईँ आफू जस्तो हो, त्यस्तै प्रस्तुत गर्नुस् । सकेसम्म नम्र भएर बोल्नुस् । विस्तारै तर सुनिने गरी बोल्नुस् । प्रश्नकर्ताले जे जति प्रश्न गरेका छन्, त्यसको उत्तर दिने प्रयास गर्नुस्, जानेको छु भनेर धेरै भन्नु पर्दैन् ।

विषयवस्तु र समयसामयिक सन्दर्भहरु तयारी गर्नुस् । धेरै आत्तिनु र डराउनु आवश्यक नै छैन । तपाईँले सधै भेटेका कुरा गरेका जस्तै मानिसहरूले नै तपाईँको अन्तरवार्ता लिने हो ।

अन्तर्वार्ता कक्षमा सामान्य शिष्टाचारसँगै सकेसम्म हँसिलो मुद्रामा प्रस्तुत भएको राम्रो । केहीगरी हँसिलो मुद्रा भएन, केही विग्रिदैन तर जर्वजस्ती नर्गनुस् ।

परिचय दिँदा आफ्नो पूरा परिचय दिनुस् । कतिपयले परिचयमै पनि केही कुरा ढाट्ने गर्न खोजेको पाइन्छ । यसले पनि समस्या हुन्छ । उदाहरणको लागि तपाईँ स्कुल पढाउनु हुन्छ । परिचयमा पढ्दै छु, जागिर छैन भन्नु भयो र पछि विषयको कुरा हुँदै जादा मैले पढाउँदा यसो गर्छु भन्न पुगिन्छ । किनकी परिचय ढाँटेको कुरा पछि सम्झिदैन, त्यसैले अन्तर्वार्तामा सकेसम्म ढाट्ने कामै नगर्नुस् । एउटा कुरा ढाट्नु भयो भने त्यसलाई पुष्टी गर्न अरु १० कुरा ढाट्नुपर्छ ।

तपाईँ कुनै एउटा क्षेत्रमा जागिरे हुनुहोला । शिक्षण गर्नुहुन्छ होला । क्याम्पस पढाउनुहुन्छ होला । तपाईँलाई किन त्यो जागिर छोडेर यता भन्ने प्रश्न पनि सोधिन सक्छ । वास्तविकता जे हो त्यही भन्नुस् । आदर्शवान हुनु पर्दैन । म देशको शिक्षा सुधार गर्न, राष्ट्र सेवा गर्न भन्नेजस्ता ठूला कुरा नगर्नुस् । जे हो त्यही भन्नुस् । अस्थायी, पेसागत सुरक्षाका लागि स्थायी जागिरका लागि यता जाँच दिए । म अहिले शिक्षण गर्छु तर मलाई निजामती सेवामा जागिर खाने रहर, चाहनाले गर्दा यता आए । शिक्षण पेसा खतम छ पनि नभन्नुस र निजामती सेवा सारै उत्कृष्ट पनि नभन्नुस । विद्यालय घरपायक भएन, विद्यालयमा सरुवा अलिक कठिन, यता भए घरपायक होला भनेर हो । वृत्तिविकासका अवसर बढी छन् । जे हो त्यही भन्नुस । आदर्शवान नबन्नुस् । गरिरहेको पेसाको नकारात्मक मात्र र आउन लागेको खुब राम्रो नभन्नुस् । सबै पेसामा केही गुण दोष हुन्छन् । यो प्रश्न धेरैजसो सोधिएको हुदैँन के भन्ने होला भन्ने लागिरहेको हुन्छ ।

कहिलेकाँही परिचयबाटै पनि प्रश्न शुरु हुन सक्छ । तपाईँ अन्तरवार्ता दिन जादाको बाटो, दुरी जस्ता सामान्य विषय पनि सोधिन सक्छ । सामान्य जानकारी राख्नुस् । अन्तर्वार्ताको मिति, समय र स्थानको वारेमा पहिले नै निश्चित भएको हुनुपर्छ । अन्तर्वार्ता दिन जाँदा लैजाने सामाग्रीको तयारी गर्नुस् । समय छ भनेर भन्दा सङ्कलन गरेर राखेको राम्रो ।

अन्तर्वार्तामा बसेकाहरुले पालैपालो प्रश्न सोध्छन् तर तपाईँले उत्तर दिदा प्रश्न सोध्नेलाई मात्र नहेरी सबैलाई हेर्नु आवश्यक हुन्छ । तर प्रश्न सोध्नेलाई धेरै हेरिएला । आफ्ना व्यक्तिगत कुरा अनावश्यक रुपमा नभन्नुस् । मलाई पास गराइदिनुस्, मेरो समस्या छ भन्नेजस्ता कुरा नगर्नुस् । सोधिएका प्रश्नको आवश्यकभन्दा बढी व्याख्या पनि नगर्नुस् ।

कुर्सीमा बसेर शरीर तन्काउने, हल्लीने नगर्नुस् । नाक कोट्याउने, कपाल कन्याउने, दातँ कोट्याउने काम पनि नर्गनुस् । हाउभाउ देखाउनु पर्दैन ।

अन्तर्वार्ता कक्षमा तपाइँका लागि बस्ने स्थान हुन्छ । सामान्यतयाः बस्ने ठाँउ देखाएर बस्नुस भनिन्छ । यदि त्यसो भनिएन र परीक्षण गर्न खोजियो भने पनि नआतिएर तपाईँ आँफै म बसौँ भनेर अनुमति लिएर बस्नु पर्छ । बस्दा सजिलो हुने गरी, हात नबाधि, खुट्टा नखुम्च्याइ अथवा सहज हुने तरिकाले बस्नुपर्छ । अन्तर्वार्ता दिने बेला यसरी बस्छु भनेर जानु भयो भने, प्रश्नको उत्तर दिदा पनि तपाईँको ध्यान बसेको मिलेको छ छैन भन्नेतर्फ जाने हुँदा सकेसम्म प्राकृतिक बन्नुस् । कृत्रिम भन्ने केही पनि नर्गनुस् । नडराउनुस्, नहडबडाउनुस् । केही गरी तपाई तनावमा आउनुभयो, डराउनुभयो भने पनि अन्तरवार्ताकारहरूले सहज वातावरण तयार गर्छन् ।

आँफूभन्दा अगाडिकालाई के सोध्यो भनेर आत्तिनु पर्दैन । त्यही प्रश्न दोहोरिने संभावना एकदमै कम हुन्छ । एउटा निकै प्रचलित जोक पनि छ, हेर्नुहोस् बक्समा ।

लोक सेवा आयोगले स्थानीय तह शिक्षा सेवाको अधिकृत छैठौँका लागि सामुहिक छलफल पनि राखेको छ । लोक सेवा आयोग कार्यसञ्चालन निर्देशिका २०६७ मा उल्लेख भएका विषयहरु निम्न छन् । सामुहिक छलफलमा खासगरी दिइएको विषयमा परीक्षार्थीहरूको समस्या पहिचान गर्ने क्षमता, उपायहरु पत्ता लगाउने क्षमता, मौलिकता, सहम सहभगिता, नेतृत्व लिने जस्ता विषयहरुमा मूल्याङ्कन गरिन्छ ।

सामुहिक परीक्षणको पूर्णाङ्क १० र समय आधा घण्टा तोकिएको छ । दिइएको कुनै पनि विषयमा समूहका सहभागीहरुले आधा घण्टामा छलफल गर्नुपर्छ । समूह छलफलमा उम्मेदवार सङ्ख्याका आधारमा ७ जनासम्म एउटा समूहमा राखिन्छ । अहिलेको स्थानीय तहको लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको सङ्ख्याका आधारमा हेर्दा सबैभन्दा कम जुम्लाको १२ जना भएकाले २ समूह र जलेश्वर ६३ जना भएकाले ९ समूहसम्म बन्न सक्ने देखिन्छ ।

सामुहिक छलफल सञ्चालन गर्दाको प्रक्रियालाई लोकसेवा आयोगको निर्देशिकामा निम्न व्यवस्था रहेको छ ।

सामुहिक छलफलमा खासगरी समसामयिक विषयमा छलफल गर्न लगाइन्छ ।

विगतमा छलफलका लागि दुई अङ्कको आर्थिक वृद्धिदर, फोहरमैला व्यवस्थापन, सामाजिक सुरक्षा, सुशासन र जवाफदेहिता, दिगो विकास, सहरी प्रदुषण, गरिबी निवारण जस्ता विषयहरु दिइएको थियो । अहिलेका समसामयिक विषयमा स्थानीय सरकारको प्रभावकारीता, स्वशासन, दिगो विकास, सडक दुर्घटना, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, भ्रष्टाचार, सार्वजनिक सेवा, विशेष आर्थिक क्षेत्र जस्ता विषयहरु हुन सक्छन् । गुणस्तरीय शिक्षा, शिक्षामा समतामूलक पहुँच, शिक्षा नीतिको कार्यान्वयन विषयसँग सम्बन्धित हुन सक्छन् । राजनीतिक भन्दा आर्थिक, सामाजिक, विकास, वातावरणका विषयहरु हुने गर्छन् ।

अन्तरवार्तामा सामान्यतया पहिले सोधेको प्रश्नहरु दोहोरिँदैनन । दोहोरिए पनि आफूले जे जानेको छ, त्यही भन्ने हो । नजान्दा ठूलो गल्ती हुँदेन तर गल्ति उत्तर भन्दा नकारात्मक नतिजा आउन सक्ने हुन्छ ।

अन्तर्वार्तामा पनि हामीले सधै देखेका भेटेका वा सुनेका साधारण मानिसहरू नै बस्ने हुनाले धेरै डराउनु पनि आवश्यक छैन ।

अन्तर्वार्तामा कुनै पनि कुरा ढाट्ने चेष्टा नगर्नुहोस् । कुनै एउटा झुट कुरालाई प्रमाणित गर्न अन्य धेरै थप झुटो बोल्नु पर्छ । विषयवस्तुमा पनि नजानेको कुरा आयो भने गल्ती उत्तर नभन्नुहोस् । गल्ती भन्नुभन्दा, मलाई सम्झना भएन, अहिले याद भएन, भनेर सरल तरिकाले आँफूलाई थाहा नभएको कुरा बताउनुहोस् । इमान्दार बन्नुहोस् ।

म एउटा अन्तर्वातामा बसेको थिए । वहाँले परीचय दिए अनुसार मेरै जिल्लाको हुनुहुँदोरहेछ । वहाँले १ वर्ष निजी स्कुलको शिक्षण अनुभव छ भन्नुभयो ? मैले कहाँ भनेर सोधे ? वहाँले गाउँमा भन्नुभयो । कुन जिल्लाको कुन गाउँ ? मैले सोधे ? अनि वहाँले मेरै नजिकको गाउँ भन्नुभयो । त्यहाँ निजी स्कुल छ र ? मैले सोधे । पहिला थियो अहिले छैन ? वहाँको झुट कुरा पत्ता लाग्यो मैले आफ्नो परिचय नदिई तपाईँ झुटो बोल्नुभयो भने । त्यहा कहिले पनि निजी स्कुल थिएन भनेपछि पुरै आत्मविश्वास गुमाउनुभयो र असिनपसिन हुनुभयो । अनि मैले नै सहजीकरण गरेर अन्य अन्तर्वार्ताकारलाई प्रश्न सोध्न सङ्केत गरे । यस्तो कदापि नगर्नुहोला किनकी अन्तर्वाताकारहरुले तपाईँको गाउँ ठाउ थाहा पाएका हुन सक्छन् र अन्तर्वार्ताकारलाई तपाईँले चिन्नु भएको पनि हुँदैन ।

आफूले विश्वविद्यालयमा पढेको विषयवस्तुमा पनि सामान्य तयारी गर्नुहोस् । कुनै विषयमा तपाईँको धारणा के छ भनेर सोधियो भने एकदमै नकारात्मक वा अन्धभक्त जस्तो सकारात्मक धारणा नराख्नुहोस् । जस्तै नेपालका सामुदायिक विद्यालयको सिकाइस्तर कमजोर छ, यसका लागि को जिम्मेवार भनेर सोधिएला । कतिपय शिक्षण गरिरहेका तपाईँहरूले राज्य, सरकार र अभिभावक भन्नुहोला । शिक्षण नगरेकाले शिक्षक भन्नुहोला । यस्तो सवालमा सन्तुलित भएर सबै पक्षको भूमिका छ, कसैको बढी होला कसैको कमि तर मेरो विचारमा अथवा मलाई यसको अलि बढी हो कि भन्ने जस्तो लाग्छ भनेर प्रस्तुत हुन सकिन्छ । तर आफूले कुनै विचार राखिँदैछ भने त्यसलाई सहयोग पुग्ने तर्कहरु पनि राख्नु पर्छ । जस्तै माध्यमिक तहसम्मको शिक्षा स्थानीयमा दिइयो, तपाईँलाई कस्तो लाग्छ भनेर सोधियो भने संविधानकै आलोचना गरेर नकारात्मक नबन्नुस । ठिकै लाग्छ, वा ठिक छैन मात्र भनेर नपुग्ला किन ठिक लागेको छ वा किन लागेको छैन, २/३ वटा पुष्ट्याइ पनि दिनु आवश्यक हुन्छ । लोकसेवा आयोग सञ्चालन निर्देशिकाले अन्तरवार्ता सम्बन्धमा निम्न कुराहरु उल्लेख गरेको छ ।

कुनै समस्या सोधिएला त्यस्तो समस्यामा पनि यो त हुनै सक्दैन अथवा भइहाल्छ भन्ने पूर्ण उत्तर नदिँदा राम्रो । उदाहरणको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन प्रभावकारी कार्यान्वयन भएको छैन । धेरै शिक्षकहरू यसलाई समस्या भयो भन्नुहुन्छ । यो समस्या हो ? भनेर प्रश्न सोधिएला । यस्तो बेला हो यो समस्या हो यो त कार्यान्वयन गर्नै सकिदैन वा होइन यो त एकदम ठिक छ, सजिलै गर्न सकिन्छ भन्ने जस्तो नभई व्यवहारिक भएर तर्कसंगत कुराहरु राख्दा राम्रो हुन्छ । किन गर्न सकिदैन वा सकिन्छ । तपाई आफू के गर्नुहुन्छ ? अँ ठिक छ भन्नुहोला, तपाईँ पढाइरहेको हुनुहुन्छ भने तपाईँले वा तपाईँको विद्यालयमा के भइरहेको छ ? प्रश्न त्यतै मोडिन पनि सक्छ । अनि कसरी गर्नुहुन्छ भनि सोध्दा नगरेको भए कुरा मिल्दैन ।

कुनै पनि विषयलाई हेर्ने र त्यसलाई बुझ्ने दृष्टिकोण केही फराकिलो बनाउनुस् । तपाईँ जुन पेसा अपनाउका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ त्यो पेसाप्रति सम्मानभाव प्रस्तुत गर्नुस् । सरकारी सेवामा आउँदै हुनुहुन्छ भने धेरै सकारात्मक र १/२ वा थोरै मात्र नकारात्मक कुरा गर्नुस् । काम ढिलो हुने, सेवाग्राही सन्तुष्ट नहुने एउटा पक्ष होला, ढिलासुस्ती, घुस र भ्रष्टाचारका विषय पनि उठ्लान ।

अन्तर्वार्ता खासै महत्वपूर्ण होइन र यो निकै महत्वपूर्ण पनि हो । यसमा लिखित परीक्षाको अङ्क जोडिने भएकाले धेरै हदसम्म लिखितको नम्बरले तपाईँको नतिजा निर्धारण गर्छ, तर पनि अन्तर्वार्ता निर्णायक हुन्छ । यदि धेरैजनाको बराबर नम्बर आएको छ भने अन्तर्वार्ता निर्णायक पनि हुन्छ ।

‘अन्तर्वार्ता आफू जस्तो हो, त्यस्तै देखाउने कला हो ।’

शिक्षा ऐन नियमावली तथा आफ्नो विषयवस्तुसँग सम्बन्धित कुराहरूमा राम्रो तयारी आवश्यक छ । शिक्षा र समसामयिक विषयको ज्ञान पनि राख्नु राम्रो । तपाईँ आफु जे जस्तो हुनुहुन्छ, त्यही रूपमा अन्तर्वार्तामा प्रस्तुत हुनु भयो भने तपाईँका लागि सजिलो हुन्छ । अन्तर्वार्ताले तपाईँको Naturalist & Confidence मात्र हेर्छ । Communication skill परीक्षण हुन्छ । तपाईँले कस्तो पोशाक लगाएर जानुभयो र कसरी बोल्नुभयो भन्दा पनि के बोल्नुभयो र कसरी प्रस्तुत हुनुभयो भन्ने महत्वपूर्ण हुन्छ । सामान्यतया अन्तर्वार्तामा ३५ प्रतिशतभन्दा कम र ७० प्रतिशतभन्दा माथि नम्बर दिने प्रचलन हुँदैन् र दिनै परे कारण लेख्ने भनेको छ । कारण दिएर नम्बर दिने अवस्था सामान्यतया हुँदेन् र यस्तो झण्झट पनि कसैले गर्दैन् ।

लोक सेवा आयोग कार्यसञ्चालन निर्देशिका डाउनलोड गर्नुपरेमा :

http://psc.gov.np/assets/uploads/files/201210071349603194.pdf

Tags :
प्रतिक्रिया दिनुहोस