सबै क्षेत्रलाई सबल बनाउन सके समृद्धि सम्भव : मन्त्री नेम्बाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सबै क्षेत्रलाई सबल बनाउन सके समृद्धि सम्भव : मन्त्री नेम्बाङ


२४ पुस २०७६, बिहिबार


पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुलुकका सबै क्षेत्रलाई सबल बनाउन सके मात्र समृद्धि सम्भव हुने बताएका छन् । बुधवार गृह जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका वडा १ र २ अँध्यारोमुक्त घोषणा कार्यक्रममा यस्तो बताएका हुन् ।

मुलुकका सबै क्षेत्रहरूलाई सबल र समयानुकूल बनाउन सके मात्रै समृद्धि सम्भव हुने भएकाले सरकारले विकास निर्माण र सेवा प्रवाहका सबै क्षेत्रमा सुधारको प्रयास गरिरहेको मन्त्री नेम्वाङको भनाई छ । सरकारको प्रयासकै कारण विकास निर्माणका कार्यहरू तथा सेवा प्रवाहका क्षेत्रहरूमा परिवर्तन आएको मन्त्री नेम्वाङले बताए ।

मन्त्री नेम्वाङले ठुला पूर्वाधारका आयोजना, विकास निर्माणका अन्य योजना र सेवा प्रवाहका क्षेत्रमा सरकारले एकैसाथ सुधारको प्रयास गरिरहेको बताए । ‘सल्लाको दियालो बाल्नुपर्ने अवस्थाको अन्त्य भयो । अब विदेशबाट आयातित ग्याँसबाट खाना पकाउनुपर्ने, दाउराबाट खाना पकाउने पर्ने अवस्थाको पनि अन्त्य गर्छौँ’, मन्त्री नेम्वाङले भने, ‘अब आफ्नै पानीबाट उत्पादित विद्युत् चुला चौकामा पु¥याई त्यसैबाट खाना पकाउने प्रबन्ध सरकारले गर्छ ।’

मन्त्री नेम्वाङले देशका ४० वटा जिल्लामा पूर्ण विद्युतिकरण गर्ने योजना चालु आर्थिक वर्षबाट अघि बढेको जानकारी दिए । यही कार्यक्रमअन्तर्गत पाँचथरमा चालु आर्थिक वर्षमा सरकारले करिब रु. १ अर्व ५० करोड बजेट विद्युतिकरणका लागि छुट्ट्याएको मन्त्री नेम्वाङले बताए । उनले १/२ वर्षमै पाँचथर जिल्लालाई अँध्यारोमुक्त जिल्ला निर्माण गर्ने कार्यमा जुट्न आग्रह पनि गरे । आफूले विद्युतिकरणका लागि जिल्लामा निरन्तर अगुवाइ गरेको र जिल्लाका वडा तथा स्थानीय तहहरू क्रमशः अँध्यारोमुक्त घोषणा हुँदा आफूलाई सबैभन्दा खुसी मिलेको मन्त्री नेम्वाङले बताए ।

फरक प्रसङ्गमा मन्त्री नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न ७ वटा राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको कार्यलाई द्रुत गतिमा अघि बढाउन आफूले निरन्तर अनुगमनको कार्य गर्दै आएको बताए । उनले पुष्पलाल (मध्य पहाडी) लोक मार्ग सहित पूर्वी पहाडका विशेष महत्त्वका तमोर कोरिडोर सडक, मदन भण्डारी सडक, राँके–रवि–भेडेटार सडक, पाथीभरा मन्दिर ताप्लेजुङ सडक निर्माणलाई समेत आफूले विशेष चासो दिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले मन्त्री नेम्वाङकै अगुवाइमा जिल्लामा विद्युतिकरणको सुरुआत भएको र अहिले उनीबाटै विभिन्न वडाहरूलाई अँध्यारोमुक्त वडा बनाउने कार्य अघि बढ्नु सुखद संयोग रहेको बताए ।

हिलिहाङ गाउँपालिका वडा नं. १ र २ का करिब १ हजार २ सय घरमा विद्युतिकरणको कार्य पूरा भई वडाहरूलाई अँध्यारोमुक्त वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष भवानीप्रसाद लिङदेनले जानकारी दिए । यी वडाहरू कुल रु. ८ करोड ८० लाख ६० हजारको लागतमा विद्युतिकरणको कार्य पूरा भएको हो । विद्युतिकरणका लागि नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रले रु. १२ लाख बराबरको प्राविधिक सहयोग, नेपाल विद्युत् प्राधिकरण इलाम कार्यालयबाट रु. २० लाख, काबेली कोरिडोर परियोजनाबाट रु. २ करोड ८० लाख, काबेली ए जलविद्युत परियोजनाबाट रु. ७६ लाख, हिलिहाङ गाउँपालिकाबाट रु. ७४ लाख, अरुण काबेली जलविद्युत आयोजनाबाट रु. ३ लाख ६० हजार, नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विद्युतिकरण कार्यक्रमबाट रु. २ करोड ९२ लाख र उपभोक्ताहरुबाट सङ्कलित रु. ३२ लाख ५० हजार रकम प्राप्त भएको हिलिहाङ गाउँपालिका वडा नं. १ वडाध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लिङदेनका अनुसार हिलिहाङ गाउँपालिकाको वडा नं. १, २, ५ र ६ मा विद्युतिकरणको कार्य पूरा भएको छ भने वडा नं. ३, ४ र ७ मा विद्युतिकरणको कार्य धमाधम अघि बढिरहेको छ । आगामी छ महिनाभित्र विद्युतिकरणको काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष लिङदेनले जानकारी दिए ।

त्यस्तै मन्त्री नेम्बाङले याङवरक गाउँपालिका ६ मा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको समेत आजै उद्घाटन गरेका छन् । नेपाल सितोरियो कराँते सङ्घ डोजो नागी र मुकुबुङ युवा क्लबले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा नेपालका विभिन्न स्थान र भारतको दार्जिलिङ, आसाम र सिक्किमबाट २ खेलाडी सहभागी रहेको आयोजकले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस