जैविक चियामा सर्वसाधारणको चासो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जैविक चियामा सर्वसाधारणको चासो


२३ पुस २०७६, बुधबार


चिप्लेढुङ्गा । ‘चियापत्ती पनि ५० हजार किलोपर्छ ?’ पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको कक्ष नं– ५ मा जैविक (अर्गानिक) चियाको अवलोकन गरिरहेका सर्वसाधारणको प्रश्न थियो । उत्साहपूर्ण प्रश्नको उत्साहपूर्ण जवाफ दिन व्यस्त थिए हरि सिटौला । उनी कञ्जनजङ्घा अर्गानिक अर्थोडक्स चिया उद्योग प्रालिका सञ्चालक छन् ।

‘यो अर्गानिक चियाको स्वाद चाख्नुस्’, सर्वसाधारणतिर चियाको गिलास बढाउँदै भने, ‘यो गोल्डेन निडल टि र यो सिल्भर निडल टि, गोल्डेन निडल टि लाई चाइनिज प्रविधिबाट बनाइन्छ, एउटा सुइरो निकाल्न पनि निकै मेहनत गनुपर्छ ।’ जिज्ञासा मेटाउने क्रममा उनले माथिको सुइरो कठ्याग्रिदै टिप्नुपर्ने जानकारी सर्वसाधारणलाई दिए ।

उनका अनुसार उक्त चिया २ हजार मिटरदेखि २ हजार ४०० मिटर उचाई बीचमा उत्पादन गरिन्छ । यो चिया बोटको सुइरोमा शीत पर्छ र शीत त्यही जम्छ र ध्यान गरी एकदमै शान्त मुद्रामा टिपिन्छ । यसलाई यौगिक चिया पनि भनिन्छ । उनले भने, ‘गोल्डेन चियाको लागि बोटबाट सुइरो निकालेर सुकाइन्छ र रोलिङ गरेर आठ घण्टा छोपेर राखेपछि रातो भएपछि सुख्खा बनाएर तयार गरिन्छ ।’

उनले यो ब्राण्डको चिया रु ५० हजार किलोमा बिक्री हुने बताए । यसलाई बोटबाट टिपेको १३ घण्टाभित्र पूर्ण प्राकृतिकरुपमा तयार गरिन्छ । त्यसैगरी ‘सिल्भल निडल टि’ लाई चियाको बोटबाट सुइरो निकालेर जस्ताको तस्तै सुकाएर र प्याक गरिने उनले जानकारी दिए । उनले यो चिया अर्डर आएपछि मात्रै उत्पादन गरिने जानकारी दिए । कृषकसँग प्रत्यक्ष सहकार्य गरेर जैविक चिया उत्पादनलाई जोड दिँदै आएको उनको भनाइ छ ।

साँखेजुङ ब्राण्डले १२ प्रकारका चिया उत्पादन गर्दै आएको र वार्षिक २० हजार किलो ब्राण्डेड चिया अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेको उनले जानकारी दिए । विसं २०१९ मा चीनमा भएको अन्तर्राष्ट्रिय टि टेस्टिङ एक्जिविशनमा २३ देशका १९१ प्रकारका चियामध्ये कञ्चनजङ्घा अर्गानिक चिया उद्योगबाट उत्पादित ‘गोल्डेन स्पेशल ब्ल्याक लिफ्टि’ र ‘गोल्डेन टिप्स टि’ ले अन्तर्राष्ट्रिय सिल्भर अवार्ड प्राप्त गर्न सफल भएको थियो । यो अवार्डले विश्व बजारमा नेपाली जैविक चियाको गुणस्तरलाई चिनाउन सफल भएको उनको भनाइ छ ।

पोखराको चिप्लेढुङ्गामा ‘चियाज् क्याफे’ सञ्चालन गर्दै आएका सन्देश पराजुलीले भारतबाट आयातित चिया भन्दा कयौं गुणा स्वादिलो नेपालको जैविक चिया भएको प्रतिक्रिया दिए । ‘मैले चियाको व्यापार गर्दै आएको छु, पछिल्लो समय नेपालको चियानै अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको छ ।’ आफूले पनि स्वदेशकै चियालाई नै जोड दिने उनले बताए ।

स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिने अर्गानिक अर्थोडक्स ग्रिन टि, ह्वाइट टि पनि पछिल्लो समय बजारमा माग बढ्दै गएको अर्का सञ्चालक डम्बरबहादुर खत्रीले बताए । ८ सय हेक्टर जग्गामा जैविक सर्टिफाइट क्षेत्र छुट्टाएर चियाखेती गरिएको उनको भनाइ छ । उनले भने, ‘हामीले पारिवारिक रुपबाट ८४ कृषक परिवारसँग जोडिएर काम गरेका छौं, वार्षिक २५ टन अर्गानिक चिया उत्पादन गर्दै आएको छौ, अर्गानिक चिया बनाउँदा कृषकले एक किलोको रु २ हजार ५०० प्राप्त गर्छन् ।’

उनका अनुसार वार्षिक २० हजार किलो ब्राण्डेड टि विदेश निर्यात हुने गरेको छ । ब्राण्डेड चिया अमेरिका, जर्मन, फ्रान्स, चीन, थाइल्याण्ड, रुस जाने गरेको छ । इलाम नगरपालिका–ं १ को साँखेजुङमा रहेको उद्योगमा नेपाल राष्ट्रपति अवार्ड प्राप्त गर्न सफल मिलनकुमारी खत्रीले यसको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका छन् । उद्योगमा हाल ३५ कामदार कार्यरत छन् । महिलाको नेतृत्वमा सञ्चालित सो उद्योगले गुणात्मक जैविक चिया उत्पादन गरेर विश्व बजारमा पुर्‍याउन सफल भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस