प्रकृतिलाई मासेर हैन जोगाएर पर्यटन विकास गरौँ : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रकृतिलाई मासेर हैन जोगाएर पर्यटन विकास गरौँ : राष्ट्रपति भण्डारी


१६ पुस २०७६, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई मासेर नभई जोगाएर मात्र नेपालको पर्यटन विकास गर्नुपर्ने बताएकी छन् ।

नेपाल भ्रमण वर्ष २०२० को स्थानीय दशरथ रङ्गशालामा आज साँझ उद्घाटन गर्दै उनले दुई दशकदेखि शिथिल नेपालको आर्थिक सामाजिक अवस्था अब पर्यटनका माध्यमबाट उकास्नुपर्ने बताइन् । सबैको सहयोग र सहभागिताबाट भ्रमण वर्ष महाभियानका रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले यसलाई सफल पार्न सबै नेपालीलाई एक जुट हुन आह्वान पनि गरिन् ।

पर्यटनलाई आर्थिक आधारका रुपमा लिई मुलुकको योजनाबद्ध पर्यटन विकासमा जोड दिँदै उनले यसका लागि स्रोत र साधनको उपयोग गर्न आग्रह गरिन् । उनले भनिन्, ‘वसुधैव कुटुम्बकमको मान्यताबाट प्रेरित भई विश्व शान्ति, मानवता र भ्रातृत्वका लागि नेपालीहरु एक जुट हुनुपर्छ ।’

राष्ट्रपति भण्डारीले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको र यहाँ सगरमाथा, लुम्बिनी, चितवन, अन्नपूर्णबाहेक अन्य थुप्रै पर्यटन गन्तव्य भएको बताउँदै पर्यटन विकासका लागि प्राकृतिक, सांस्कृतिक, पर्यावरणीयमैत्री र भौतिक विकास गर्नुपर्नेमा जोड दिइन् । पर्यटकलाई देशभित्रै उत्पादन भएका वस्तु खानपान र प्रयोग गराउनुपर्ने सुझाव पनि उनले दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस