नेपाललाई थप चार स्वर्ण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाललाई थप चार स्वर्ण


१७ मंसिर २०७६, मंगलबार


काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप चार स्वर्ण पदक जितेको छ । नेपालले आज उसुमा दुई तथा कराते र डुवाथोलनमा एक एक स्वर्ण जितेको हो । यो सँगै नेपालले अहिलेसम्म १९ स्वर्ण, चार रजत र आठ कास्यसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै श्रीलङ्का ४ स्वर्ण, ६ रजत र ११ कास्यसहित दोस्रो तथा भारत ३ स्वर्ण, ८ रजत र ५ कास्यसहित पदकतालिकाको तेस्रो स्थानमा छ ।

उसुमा दुई स्वर्ण
उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा नेपालकी सुस्मिता तामाङ र विजय सिञ्जालीले स्वर्ण जितेका हुन् । आजदेखि शुरु भएको उसुको थाउलुतर्फ थानछ्वानको महिला स्पर्धामा नेपालकी सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । तामाङले ९ दशमलव ४४ अङ्क प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा श्रीलङ्काले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ । उसुतर्फ आजको यो नै पहिलो खेल थियो ।

यस्तै उसुको थाउलुतर्फ थानछ्वानको पुरुष स्पर्धामा नेपालका विजयले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई उछिन्दै स्वर्ण जितेका हुन् । उनले ९ दशमलव ४८ अङ्क जोडे । सो स्पर्धामा बङ्गलादेशले रजत तथा श्रीलङ्काले कास्य पदकमा चित्त बुझायो । उसुमा हालसम्म नेपालले नौ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन सोमबार सात स्वर्ण जितेको थियो ।

करातेमा नविनलाई स्वर्ण
तेह्रौँ सागअन्तर्गत करातेको ६७ किलो कुमुतेमा नेपालका नविन रसाइलीले आज स्वर्ण पदक जितेका छन् । नविनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । ललितपुरको सातदोबाटोस्थित कराते कभर्ड हलमा भएको खेलमा उनले बङ्गलादेशका मोहम्मद थेरदुसलाई ८–२ अङ्कले पराजित गरेका थिए । करातेतर्फ यो नेपालको आठौँ स्वर्ण हो । सोमबार नेपालले करातेमा सात स्वर्ण जितेको थियो ।

डुवाथोलनमा हिमाललाई स्वर्ण
तेह्रौँ सागअन्तर्गत पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । यही स्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत जिते । श्रीलङ्काका आशिष परेराले कास्य जिते । कास्कीको पोखरास्थित लेकसाइडमा भएको उक्त स्पर्धामा नेपाल, भारत र श्रीलङ्काका छ खेलाडी मात्र सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस