२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिरोसिमा आक्रमणका ७४ वर्ष : परमाणु विभिषिकादेखि समृद्धिसम्म

अ+ अ-

सन् १९४५ अगस्ट ६ तारिखको बिहान ८ः१५ बज्दा जापानको तत्कालीन मुख्य औद्योगिक एवम् सैनिक महत्त्वको सहर हिरोसिमाको आकाश निकै सफा र खुल्ला देखिन्थ्यो । यहीँ सफा र खुल्ला आकाश लाखौँ हिरोसिमाबासीहरुको लागि त्रासदीपूर्ण भविष्य निर्धारक बन्दै छ भनेर कसैले लख काट्न नपाउँदै ‘इनोला गे’ अमेरिकी विमानबाट १६ किलो टनको ‘लिटिल ब्वाय’ नामक परमाणु बम हिरोसिमा सहरको मुख्य केन्द्रमा अवस्थित शिमा हस्पिटलको ठिक ६०० मिटर माथि आकाशमा विस्फोट गरिन्छ । विस्फोटबाट ८०,००० को तुरुन्तै एवम् ६०,००० को केही समयपछि विकिरण तथा चोटपटकबाट गरी कुल १,४०,००० को मृत्यु भएको थियो, जुन आफैमा निकै कहालीलाग्दो र सम्झिँदैमा मात्र आङ सिरिङ्ग पार्ने किसिमको छ । त्यसको तीन दिनपछि अमेरिकाले अर्को जापानी सहर नागासाकीमा ‘फ्याट म्यान’ नामको परमाणु बम पड्काउँछ जसमा पनि करिब १ लाख जति जापानीहरूले ज्यान गुमाउन पुग्छन् । विस्फोट पश्चात् सहरको जमिनको तापक्रम ३०००–४००० डिग्री सेन्टिग्रेडसम्म पुगेको थियो भने ४४० मिटर प्रति सेकेन्डको दरले आँधी चलेको थियो । जुन आफैमा विश्व इतिहासको अकल्पनीय र अद्वितीय घटना रहेको जानकारहरू बताउँछन् । एक प्रतिवेदनका अनुसार विस्फोटका कारण हिरोसिमा सहरका ७६००० घरहरूमध्ये करिब ९० प्रतिशत घरहरू पूर्ण वा आंशिकरुपमा ध्वस्त भएका थिए । अर्को तर्फ यातायात, सञ्चार, खाने पानी, ढल निकास जस्ता सार्वजनिक पूर्वाधारहरू पनि तहसनहस हुन पुगेका थिए ।

हिरोसिमा र नागासाकी सहरहरू बम विस्फोटको लागि अमेरिकी ‘म्यानहाटन प्रोजेक्ट’ द्वारा चयन सम्बन्धी पनि रोचक घटना रहेको छ । खासमा परमाणु बमको निर्माणमा संलग्न ‘म्यानहाटन प्रोजेक्ट’ ले सन् १९४५ मे मा विस्फोटका लागि उपयुक्त सहरको प्राथमिकता क्रममा सूची निर्धारण गरेको थियो । जसमा हिरोसिमा भन्दा अगाडि क्योटो सहर रहेको थियो भने नागासाकी उक्त सूचीमा समावेश पनि थिएन । तर पछि तत्कालीन अमेरिकी युद्ध सचिव हेनरी स्टिमसनको असहमति पछि क्योटोलाई विस्फोटको सूचीबाट हटाईएको थियो । स्टिमसनले जेसुकै तर्क दिए पनि उनले केही वर्ष अघि क्योटोमा हनिमुन मनाएको र धेरै सुन्दर यादहरू सो सहरसँग जोडिएका हुँदा उनले यसरी अन्तिम समयमा विरोध जनाएर क्योटोलाई जोगाएका हुन् भनेर इतिहासकारहरूले लेखेको पाइन्छ ।

सन् १९४५ अगस्ट १५ तारिखमा तत्कालीन जापानी सम्राट हिरोहितोको आत्मसमर्पणको घोषणा र सेप्टेम्बर २ तारिखमा औपचारिक हस्ताक्षर सँगै द्वितीय विश्वयुद्धको औपचारिक अन्त्य भएता पनि युद्धको चरम विभिषिकाबाट गुज्रिएका हिरोसिमा र नागासाकीका नागरिकहरूका युद्धका घाउ भरिन निकै समय लाग्ने कुरामा दुई मत थिएन् । सन् १९४१ को जापानको पर्ल हार्बर माथिको आक्रमणको बदला अमेरिकाले यो हदसम्म गएर लिन्छ भन्ने कसैले सोचेका पनि थिएनन् । विश्वमा पहिलो पटक परमाणु बमको प्रयोग हिरोसिमामै गरिएको हो र जसको प्रयोगपश्चात् स्वयम् सापेक्षतावाद सिद्धान्तका प्रतिपादक अल्बर्ट आईन्सटाईनले यो आक्रमणको खुलेर विरोध गरेका थिए । उनलाई यो घटनापश्चात् एउटा पत्रकारले यदि दुनियाँमा तेस्रो विश्वयुद्ध भयो भने कस्ता हातहतियार प्रयोग हुनेछन् भनेर सोध्दा प्रत्युत्तरमा उनले भनेका थिए, ‘तेस्रो विश्वयुद्धको त मलाई थाहा छैन, चौथो विश्वयुद्ध चैँ निश्चय नै ढुङ्गा मुडाहरु बाट लडिनेछ’ । उनले वास्तवमा परमाणु बमले विश्व सभ्यतालाई नष्ट गर्न सक्ने खतराप्रति सङ्केत गरेका थिए ।

विश्वयुद्धताकाको भीषण परिदृश्य पछि अब चर्चा गरौँ वर्तमानको हिरोसिमाको बारेमा । केही समय अगाडि मात्र पहिलो पटक हिरोसिमा सहर पुग्दा हामीले कल्पना गरे भन्दा छुट्टै तस्बिर हाम्रो आँखाको अगाडि देख्न पुग्यौँ । अन्तर्राष्ट्रिय विकास नीति सम्बन्धी २ वर्षे अध्ययनका लागि जापान पुगेदेखि नै टोकियोमा रहँदा हिरोसिमालाई नजिकबाट नियाल्ने आकाङ्क्षा उत्कर्षमा पुगिसकेको थियो । एउटा कालो इतिहासबाट गुज्रिएको हिरोसिमा सहरको वर्तमान कतिको तेजिलो छ भन्ने जिज्ञासाको हुटहुटी हट्ने क्षण नजिकै आई सकेको थियो । वास्तवमै हामीले कल्पना गरे भन्दा शान्त, समृद्ध अनि भव्य पायौँ ‘हिरोसिमा सहर’ । प्रविधि मैत्री पूर्वाधार, अन्डरग्राउन्ड रेल्वे प्लेटफर्म, व्यवस्थित ट्राफिक सिंग्नल, सभ्य एवं शालीन जापानी, सफा रेस्टुरेन्ट, न्यानो आतिथ्यता समृद्ध जापानका आधारभूत मानकहरू हुन् जुन हिरोसिमामा पनि छुट्ने कुरा भएन । हिरोसिमामा चल्ने प्रसिद्ध ‘हिरोडेन’ विद्युतीय सिटी रेल चढेर ‘हिरोसिमा पिस मेमोरियल पार्क’ पुग्दा दिउँसोको पौने तीन बजिसकेको थियो । सन् १९५४ मा केन्जो टाँगे द्वारा डिजाइन गरिएको उक्त पार्कभित्र मुख्य आकर्षणको रूपमा ‘अटोमेटिक बम डोम’ रहेको छ, जुन भवन तत्कालीन हिरोसिमा औद्योगिक प्रवर्द्धन हलको रूपमा रहेको थियो भने परमाणु बम आक्रमण पश्चात् सुरक्षित भग्नावशेष । सन् १९६४ मा यस पार्कभित्र ‘शान्ति ज्वाला’ स्थापना गरिएको छ, जुन हालसम्म निरन्तर बलिराखेको छ । र जुन दिन विश्वबाट सबै आणविक हतियारहरू पूर्णिमा नष्ट गरिनेछन् त्यो दिन यो ज्वाला निभाइनेछ । सन् १९९६ मा यस ‘पिस मेमोरियल पार्क’लाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

अब हिरोसिमा सहरमा विस्फोट पश्चातको पुनर्निर्माण प्रक्रियाका केही महत्त्वपूर्ण कदमहरू बारे चर्चा गरौँ । पुनर्निर्माणको प्रारम्भिक चरणमा सन् १९४९ मा बम विस्फोटको केन्द्रबाट केवल १ किलोमिटरको दुरीमा रहेको ‘मोटोमाथि’ भन्ने ठाउँमा १८०० वटा घरहरू बनाइए, जसलाई व्यवस्थित आवास निर्माण अभियानको कोशेढुंगाको रूपमा लिन सकिन्छ । सन् १९४९ मा तत्कालीन मेयर सिन्जो हमाईको विशेष अगुवाइमा सांसदद्वारा हिरोसिमा सहरलाई ‘शान्तिको सहर’ घोषित गरियो । जसले गर्दा हिरोसिमा विश्व जनमानसमा चर्चित हुँदै विभिन्न शान्तिसम्वद्ध अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजनास्थल बन्न पुग्यो । सन् १९५२ को डिसेम्बर तिर हिरोसिमा प्रिफेक्चर सरकारद्वारा ध्वस्त उद्योगहरूको पुनर्स्थापना गर्ने उद्देश्यले ‘प्रोडक्टिभ प्रिफेक्चर प्लान’ अगाडि ल्यायो, जसको मूल ध्येय उत्पादनमा तीव्रता ल्याई रोजगारी सृजना गर्नु थियो । जसलाई निकै सफल योजना मानिन्छ । सन् १९६६ मा शान्तिको सन्देश प्रवाह गर्ने अभिप्रायले ‘निप्पोनजान म्योहोजि’ समूहद्वारा ‘शान्ति प्यागोडा’ को निर्माण गरियो जुन पूर्णतया धातुबाट बनाइएको थियो ।

हिरोसिमा सहरको वर्तमानको आर्थिक विकास निकै लोभलाग्दो रहेको छ । जापानमा हाल जम्मा ४७ वटा प्रिफेक्चर (प्रान्त) हरू रहेका छन् जसमध्ये हिरोसिमा एक हो । कूल ८,४७९ वर्ग किलोमिटर मात्र क्षेत्रफल भएको हिरोसिमा प्रिफेक्चरको सन् २०१४ को जिडिपी १०९ बिलियन अमेरिकी डलर रहेको थियो जुन नेपालको हालको जिडिपी भन्दा चार गुणा ज्यादा हो । हाल हिरोसिमा प्रिफेक्चरमा साना ठूला गरी करिब डेढ लाख जति औद्योगिक एवं व्यापारिक प्रतिष्ठानहरू रहेका छन् । जसमा १५ लाखको हाराहारीमा कर्मचारीहरू काम गर्दछन् । हिरोसिमामा यातायात विकासको वर्तमान अवस्था निकै चुस्त किसिमको रहेको छ । यहाँ हवाई सेवा, रेल, स्ट्रिटकार जनतालाई गुणस्तरीय सेवा दिन तल्लीन देखिन्छन् । जुन समयपालनमा पनि उत्तिकै सचेत देखिन्छन् । सिटी अस्पताल र प्रिफेक्चर अस्पताल हिरोसिमाका मुख्य स्वास्थ्य पूर्वाधार हुन् । सन् १९४९ मा जापानको शिक्षा प्रणालीको राष्ट्रिय पुनर्संरचना अन्तर्गत स्थापित हिरोसिमा विश्वविद्यालय गुणस्तरीय शिक्षाको लागि प्रसिद्ध रहेको छ । हिरोसिमा सहरमा मात्रै बर्सेनि करिब चार लाख विदेशी पर्यटन आगमन हुने रहेछन् । पर्यटकहरूको मुख्य आकर्षण ‘पिस मेमोरियल पार्क’ हुँदो रहेछ । त्यसैले त हिरोसिमा सहरका वर्तमान मेयरले एक अन्तर्वार्तामा गर्वका साथ भनेका थिए, “मानवहरूले हिरोसिमा ध्वस्त पारे तर मानवहरूले नै यसको पुनर्निर्माण गरे ।’

हामीलाई लाग्छ हिरोसिमा सहरको विगत र वर्तमानबाट हाम्रो देशले पनि सिक्नुपर्ने थुप्रै कुराहरू छन् । नेपालले पनि विगतमा एक दशक लामो सशस्त्र जन युद्धको अनुभव गरेको छ । जुन समयमा हामीले पनि थुप्रै विकासका पूर्वाधार एवं संरचना गुमाउन पुगेका छौँ । हाम्रो देशको विकास पनि कयौँ दशक पछाडि धकेलिन पुगेको छ । जन युद्धले राजनीतिक चेतना विकास गराउनु सकारात्मक पाटो हो र निश्चय नै युगान्तकारी राजनैतिक परिवर्तन पनि ल्याएकै हो । अबको हाम्रो आवश्यकता भनेको पनि हिरोसिमा जस्ता सहरबाट विकासका अभ्यासहरू सम्बन्धी पाठ सिकेर अगाडि बढ्ने हो ।

शाखा अधिकृत द्वय बोहरा र भट्ट जेडिएस छात्रवृत्ति अन्तर्गत जापानमा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस