‘एक वर्षमा सुकुम्वासी समस्या समाधान हुन्छ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘एक वर्षमा सुकुम्वासी समस्या समाधान हुन्छ’


५ मंसिर २०७६, बिहिबार


पोखरा । कास्की निर्वाचन क्षेत्र नं–२ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले एक वर्षभित्र सुकुम्वासी समस्या समाधान हुने बताएकी छन् ।

चुनावी प्रचारप्रसार अभियानअन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न वडाका सुकुम्वासी बस्तीमा भएको घरदैलो कार्यक्रममा स्थानीयवासीका गुनासो सुन्दै उनले सुकुम्वासी समस्या सधैँका लागि समाप्त हुने विश्वास दिलाइन् ।

पोखरा महानगरपालिका–१७ स्थित हनुमानटोल, रातोपैह्रा, प्रगतिटोल, पुलचोक, बाराहीटोल, नमूनाटोल, बर्खेतरालगायतका विभिन्न ८ वटा सुकुम्वासी बस्तीमा पुग्दा स्थानीय जनताले देखाएको उत्साहलाई कहिल्यै पनि नभुल्ने प्रण गर्दै उनले सुकुम्वासी समस्या समाधानका लागि तीन वटै सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

निर्वाचन क्षेत्र अन्तर्गतका पोखरा महानगरपालिका–४, ७, ८, ९, ११, १५,१६, १७, २०, २१ र ३३ गरी कूल ११ वटा वडामा धेरै थोरै सुकुम्वासी बस्ती रहेको नेकपा कास्की जिल्ला कमिटी सदस्य ओम पौडेलले जानकारी दिए ।

कास्कीमा ३ हजार ५०० भन्दा बढी सुकुम्वासी परिवार बसोवास गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै नेता पौडेलले भने, ‘निर्वाचन क्षेत्र नं २ मा कूल सुकुम्वासी सङ्ख्याको ६० प्रतिशत परिवार बसोवास गर्दै आएका छन् ।’घरदैलो पश्चात आयोजित विभिन्न चुनावीसभामा बोल्ने पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताले भूमिहीनलाई जग्गाको मालिक बनाउने अभियानमा सामूहिक प्रयास रहने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस