काठमाडौँ । १२ वर्ष अगाडि फरहदवा नरसंहार हुँदा रौतहट सशस्त्र प्रहरीको नेतृत्वमा रहेका तत्कालीन एसपी रामकृष्ण लामाको खोजीमा नेपाल प्रहरीले देशभर पत्राचार गरेको छ ।
रौतहट प्रहरीले प्रधान कार्यालयमा पत्र पठाएसँगै मातहतका कार्यालयमा तत्कालीन एसपी लामाको खोजी गर्न पत्राचार गरिएको एक प्रहरी उच्च अधिकारीले बताएका छन् ।
२७ चैत २०६४ मा जिउँदै मान्छे जलाएको आरोपमा नेपाली कांग्रेसका नेता एवम् रौतहट–२, बाट निर्वाचित सांसद मोहम्मद आफताव आलम पक्राउ परेका छन् । २६ असोजमा पक्राउ परेका लामाको थुनछेक बहस सोमबारका लागि तय गरिएको छ ।
निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले बनाउँदै गरेको बम बिस्फोट भएर घाइते भएकाहरुलाई ईटाभट्टामा जिउँदै जलाउन तत्कालीन एसपी लामाले सहयोग गरेको स्थानीयको बयानबाट खुलेको छ । तिनै बयानका आधारमा, लामाको खोजीका लागि प्रहरीले पत्राचार गरेको छ ।
उक्त नरसंहारका बेला नेपाल प्रहरी रौतहटका प्रमुख रहेका तत्कालीन एसपी लक्ष्मण न्यौपाने भने ७ भदौ २०७२ मा टीकापुरमा मारिएका थिए ।