चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या


१० कार्तिक २०७६, आइतबार


बैतडी । जिल्ला अस्पताल बैतडीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । प्रदेश सरकार मातहतको अस्पतालमा तीन जना स्थायी चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना मात्रै कार्यरत छन् ।

दुई जना छात्रवृत्ति करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् । एक नवौँ तह र दुई जना आठौँ तहका चिकित्सकको दरबन्दी रहेको अस्पतालमा आठौँ तहका एक जना मात्रै कार्यरत छन् । आठौँ तहका चिकित्सक जगदीशचन्द्र बिष्टले अस्पताल प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । उनको पनि संघमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै जानुपर्ने हुन्छ । संघमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै जानुपर्ने चिकित्सक बिष्टले बताए । अहिले पनि छात्रवृत्ति करारका चिकित्सकबाट सेवा सञ्चालन भइरहेको छ । जिल्ला अस्पतालमा शल्यक्रिया गरेर महिलाको बच्चा जन्माउने जटिल प्रसूति सेवा पनि सञ्चालनमा छ । सो सेवा निरन्तरताका लागि स्त्रीरोग विशेषज्ञ हुनुपर्ने हुन्छ ।

डाक्टर बिष्टको सरुवा भएमा सो सेवा पनि बन्द हुने अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा विभिन्न प्रकारका बिरामी आउने भए पनि जनशक्तिको अभावमा सेवा दिन गाह्रो भइरहेको छ ।

यस्तै केही महीनादेखि चिकित्सकविहीन बनेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डाक्टर दरबन्दी पदपूर्ति भएको छैन । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा शवपरीक्षण गर्नसमेत सकस हुने गरेको छ । यस्तै चिकित्सकको अभावमा एक्स–रे, इसिजी लगायतका सेवाहरु पनि बन्द भएका मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस