काठमाडौं । नागढुङ्गा–मुग्लिन सडकखण्ड छ लेनको बनाइने भएको छ । सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भइको हो । आगामी जनवरीबाट निर्माण प्रक्रिया सूरु हुने जनाइएको छ ।
सडक विस्तारका लागि निर्माण कार्य र विश्वबैङ्क सँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको बताइएको छ । आगामी जुन सम्ममा निर्माण सम्झौता गरिने छ ।
सडक खण्डको निर्माण अवधी तीन वर्षको हुनेछ । करिब १६ अर्ब रुपियाँमा यो सडकखण्ड विस्तार हुन लागेको छ ।
नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किमि दूरी र चौडाइ दुईदेखि छ लेनसम्म हुनेछ । भीर पहरा भएको ठाउँमा दुइलेन, बजार बस्ती तथा समतल क्षेत्रमा छ लेनको हुने बताइएको छ ।
सडकखण्डमा २२ वटा चार लेनका नयाँ पुल र १० वटा आकाशे पुल पनि निर्माण गरिनेछन् । नागढुङ्गा सुरुङुगमार्गदेखि धार्केसम्म ११ मिलोमिटरको सहायक मार्ग निर्माण गरिनेछ ।
विभागका अनुसार फिस्लिङदेखि विशालटारसम्म त्रिशुलीपारि पनि दुईलेनको सहायक सडक निर्माण गरिनेछ ।







