गोलभेँडाले फेरियो जीवनशैली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गोलभेँडाले फेरियो जीवनशैली


२ कार्तिक २०७६, शनिबार


पाल्पा । परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि नमूना किसान बनेका छन् ।

गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेँडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभेँडा खेतीबाट चालू आवको दुई महीनाको अवधिमा रु ५० लाखको गोलभेँडा निकासी भएको छ । ठूलो मात्रामा गोलभेँडा उत्पादनसँग गरीबी हटाउन सहयोग पुगेको हो । यहाँ उत्पादित ८० प्रतिशत गोलभेँडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ ।

उत्पादित गोलभेँडाबाट राम्रो मूल्य र बजार पाउन थालेपछि यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि कमजोर आयस्रोत भएका परिवारको दैनिकी परिर्वतन देखिएको छ । आम्दानीको स्रोत बढेपछि स्थानीयवासिन्दा स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ ।

मैनादी कृषि सहकारी संस्थामा आबद्धता ४९ सदस्यले व्यावसायिक गोलभेँडा खेती वार्षिक ५० हजारदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन् । श्रम र पसिना बगाउन हिम्मत गर्ने युवाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका युवाले देखाएका छन् । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान मानबहादुर बम्रेलले चालू आवको साउन र भदौ महीनामा गोलभेँडा खेतीबाट राम्रो आम्दानी गरे ।

मकै खेतीमा गर्ने बारीमा गोलभेँडा खेतीबाट दुई लाख ७३ हजार आम्दानी गरेका छन् । गत आवमा करीब रु तीन लाख जतिको गोलभेँडा बेचिएको हो । अझै कात्तिक महीनामा गोलभेँडा बारीबाट निकासी हुने बम्रेलको भनाइ छ । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान निर्मला रास्कोटीले साउन भदौ महीनामा उत्पादन गरेको गोलभेँडा खेतीबाट तीन लाखभन्दा बढी आम्दानी लिन सफलता हाता पारे । व्यावसायिक गोलभेँडा खेतीबाट गाउँमा स्वरोजगार र रोजगारीका सम्भावनासमेत बढेको छ ।

यहाँका ९० भन्दा बढी युवा कृषि क्षेत्रमा लागि परेका छन् । तीमध्ये ४९ जना गोलभेँडा खेतीमा आकर्षित छन् । यहाँबाट तरकारी तथा सुन्तला ठूलो मात्रामा निकासी हुँदै आएको छ । ११४ जना सदस्य रहेको यस सहकारीमार्फत किसानलाई ऋण तथा प्राविधिक ज्ञान सीप तथा क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालनपछि गाउँमा कृषि उत्पादन बढेको सहकारीका अध्यक्ष बेनीराम पुनको दाबी छ ।

रिब्दीकोट गाउँपालिका–७ का वडाध्यक्ष निलबहादुर रास्कोटीले व्यावसायिक गोलभेँडा खेतीबाट किसानको जीवनस्तरमा सुधार आएको बताए । उनले गरीबी हटाउनका लागि निम्न वर्गीय परिवार कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा मेहनत गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस