काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ समकक्षी सी चीनपिङलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा स्वागतपछि आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा आफ्नो चीनको राजकीय भ्रमणका क्रममा भएको दोस्रो ‘क्षेत्र तथा मार्ग मञ्च’ (बिआरआइ) को सफलतापूर्वक समापन भएकामा प्रशंसा गर्दै मञ्चको निर्णयमा हिमालपार अन्तरसीमा बहुआयामिक सम्पर्क सञ्जालको उल्लेख भएको र त्यसबाट रेलमार्ग, सडक, सुरुङजस्ता पूर्वाधार विकास हुने विश्वास व्यक्त गरिन्।
जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी तथा चिनियाँ जनतालाई बधाई व्यक्त गर्दै उनले चीनको युगान्तकारी परिवर्तन, प्रगतिशील सुधार र प्रभावकारी सुशासन हासिल गरेको बताइन् । राष्ट्रपति भण्डारीले नेपालमा निर्वाचनपछि स्थायी सरकारको स्थापना भएको र वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न प्रयास गरिरहेको जानकारी दिँदै नेपाललाई सन् २०३० भित्रै अतिकम विकसित मुलुकबाट मुक्त गरी मध्यम आय भएको अर्थतन्त्रयुक्त मुलुक बनाउने सरकारको प्रयास भइरहेको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले भूकम्पबाट प्रभावित नेपालमा चिनियाँ सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटकको आगमनका साथै नेपालको जनशक्ति विकासमा चिनियाँ सहयोगको अपेक्षा व्यक्त गरिन् । उनले नेपालमा चिनियाँ लगानी सहज र सुरक्षित बनाउन नेपाल सरकार सदा तत्पर रहेको बताइन्।







