नोबेल पुरस्कार : भौतिकशास्त्र, चिकित्साशास्त्र र रसायनशास्त्र तर्फको निर्णय सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नोबेल पुरस्कार : भौतिकशास्त्र, चिकित्साशास्त्र र रसायनशास्त्र तर्फको निर्णय सार्वजनिक


२३ आश्विन २०७६, बिहिबार


जेनेभा । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् ।

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ । विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, “दुबै स्वीस बैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ । उहाँहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाएका थिए । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।”

अहिले वर्तमान सौर्यमण्डल बाहिर झण्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार
यसैगरी, सन् २०१९ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेबापत उक्त पुरस्कार दिइएको हो । रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा. विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहेका छन्।

सन् १९०१ यता यो पुरस्कार ११०औं पटक प्रदान गर्न लागिएको हो ।

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार
यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडइनफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक ७७ वर्षीय एम स्टान्ले ह्वीटिङ्घाम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक ७१ वर्षीय अकिरा योशिनो छन् ।

यी वैज्ञानिकको खोजले ऊर्जा भण्डारणका क्षेत्रमा नाटकीय परिवर्तन गरी कार, मोबाइल फोन तथा अरु धेरै किसिमका उपकरण चलाउन धेरै ठूलो सहयोग पुगेको समितिको ठहर छ ।

नोबेल पुरस्कार प्राप्त गर्ने प्राध्यापक गुडइनफ अहिलेसम्मकै सबैभन्दा बढी उमेरका व्यक्ति छन् ।

उनीहरुले गरेका अनुसन्धान र खोजले व्यावसायिक रिचार्जवेल ब्याट्री निर्माण र विकासमा आधार तयार गरेका छन् ।

सन् १९७० को दशकमा तेलको विश्वव्यापी संकट उत्पन्न भएकै समयमा प्राध्यापक ह्वीटिङ्घामले जैविक इन्धनको विकल्पको खोजीका क्रममा लिथियम–आयन ब्याट्री निर्माण गर्न सकिने अवधारणाको खोजी थालेका थिए ।

रसायनशास्त्र तर्फ नोबेल पुरस्कारको राशि नौ लाख १८ हजार अमेरिकी डलर रहेको छ । यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामासाहीले बाँडिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यो पुरस्कार आगामी डिसेम्बर १० का दिन स्वीडेनको स्टकहोममा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस