पशुपन्छीलाई उपयोग मात्र गर्ने की कल्याणमा पनि ध्यान दिने ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पशुपन्छीलाई उपयोग मात्र गर्ने की कल्याणमा पनि ध्यान दिने ?


१५ आश्विन २०७६, बुधबार


“पशुपन्छी प्रतिको आत्मीयता, आजको आवश्यकता” भन्ने नाराका साथ विश्व पशुपन्छी दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाईँदैछ । सन् १९३१ देखि वातावरण विज्ञहरूको समूहले फ्लोरेन्स सम्मेलनबाट हरेक वर्ष अक्टोबर ४ मा पशुपन्छी दिवस मनाउन सुरु गरेता पनि नेपालमा २०६४ साल देखी मनाउन थालिएको हो । यस वर्ष पनि सप्ताहव्यापी रूपमा यो दिवस मनाईँदैछ ।

वातावरणलाई सन्तुलन राख्नका लागी पृथ्वीमा भएका प्राणीहरूको संरक्षण आवश्यक छ । मानव जीवनको विकाससँगै पृथ्वीमा भएको हरेक पशुपन्छी र बोटबिरुवाहरूको उपयोग, उपभोगका साथै मानवको हितमा प्रयोग गरिन थालेको अवस्थामा पशुपन्छी र बोटबिरुवाहरूको गलत तरिकाबाट उपयोग हुँदा यसको प्रत्यक्ष असर वातावरणमा पर्नु स्वाभाविक नै हुन्छ । जसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव मानव जीवनमा समेत पर्ने हुन्छ । यसैलाई मध्यनजर गरी पृथ्वीमा भएको विभिन्न प्राणीको संरक्षण र संवर्द्धन गर्दै वातावरण सन्तुलन कायम गर्ने उद्देश्यले वातावरण विज्ञहरूले यो दिवसको सुरुवात गरेका हुन् ।

पशुपन्छीहरूको भोक प्यासबाट मुक्तिको स्वतन्त्रता, दुःख, दर्द, घाइते र रोग लाग्नबाट बाच्ने स्वतन्त्रता, आरामदायी ढङ्गले जिउने स्वतन्त्रता र आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रता तथा डर, त्रास र तनावमुक्त रहन पाउने स्वतन्त्रता गरी पशु कल्याणका मुख्य ५ वटा आधारभूत स्वतन्त्रताहरू हुन । विश्व पशु स्वास्थ्य सङ्गठनले एनिमल हेल्थ, भेटेरीनरी जनस्वास्थ्य र एनिमल वेलफेयरलाई मुख्य रूपमा अगाडि बढाउने भएपछि एनिमल वेलफेयर अहिले चासोको विषय बनेको छ ।

सम्पूर्ण प्राणीको अस्तित्वको रक्षा गरी वातावरण सन्तुलन कायम गर्ने, पशुपन्छीलाई पनि उचित व्यवहार गर्ने, पशु कल्याणको संरक्षण र संवर्द्धन गर्दै गुणस्तरीय पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नु जस्ता विषयले पशु कल्याणको आवश्यकतालाई अझ मजबुत बनाएको छ । मानवीय कार्यले पशुपन्छीहरूमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै पशुपन्छी हाम्रा लागि हुन्, यिनको संरक्षण र सम्वद्र्धनमा हाम्रो पनि भलाइ छ भने बुझ्न जरुरी छ ।

पशुलाई कोर्रा, चक्कु, बन्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलो लगायतका वस्तुको प्रयोग गरी पीडा दिने, पशुलाई घाउ चोट वा पीडा हुने गरी फाल्सन लगाउने(हब्लिङ्ग), नाक, पुच्छर, खुट्टा बाँध्ने वा झुण्डाउने, पुच्छर बटार्ने वा भाँच्ने, अङ्गभङ्ग गर्ने, नवजात पशुलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, अजीर्ण बनाउने वा फाल्ने लगायतका अन्य कार्य गर्ने, पशुलाई घाउ चोट लाग्ने वा पीडा हुने गरी हिर्काउने, बिरामी वा घाइते वा पिडा हुने गरी हिर्काउनु हुँदैन । यी सबै पशु प्रतिको निर्दयी व्यवहार मानिन्छ ।

नेपालमा पशु ढुवानीको अवस्था हेर्दा बसको डिक्कीमा ढुवानी गर्ने, एउटा ट्रकमा कोची कोची पशुलाई उभिन समेत गाह्रो हुने गरी ढुवानी गर्ने, ढुवानी गर्दा बस्छ भनेर नाक र पुच्छरमा डोरी बाँधेर झुन्डाउने र पिट्ने जस्ता अमानवीय कार्यलाई नियन्त्रण गर्नका लागि सरकारले पशु ढुवानी मापदण्ड २०६४ जारी गरेको छ । तर दशक भन्दा बढी समय भई सक्दा पनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन । चर्चाका लागि कहिले काहीँ गरिने उच्चस्तरीय अनुगमनले पनि पशु ढुवानी प्रक्रिया अस्त व्यस्त रहेको देखाउँछ । ढुवानी साधनमा मापदण्डमा तोकिएको भन्दा अत्यधिक पशु राख्ने, नियमले नमिल्ने बसको डिक्कीमा, छतमा पशु ढुवानी गर्ने जस्ता कार्यले ढुवानी गर्दा गर्दै मृत्यु भएको, घाइते भएको लगायतको अवस्था देखिन्छ । जुन कार्य गर्नु गराउनु हुँदैन ।

पशुलाई वध गर्दा पीडा हुने गरी तथा अन्य पशुले हेर्ने र देख्ने गरी पशुको वध गरिनु हुँदैन । यसका लागि पशु वधशाला तथा मासु जाँच ऐन २०५५ ले पशु वध गर्दा अपनाउनु पर्ने विषयहरूलाई परिभाषित गरेको छ । तर वध गर्दाको अवस्था हेर्ने हो भने दर्दनाक स्थिति छ । यसलाई कानुनी दायरामा ल्यायन जरुरी छ भने वध गर्नेले तोकिएको प्रक्रिया अपनाउनुपर्छ, यो मेरो जिम्मेवारी हो भनेर बुझ्न समेत आवश्यक छ ।

नेपालमा भरखरै लागू भएको मुलुकी अपराध ऐन २०७४, पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५, पशु वधशाला र मासु जाँच ऐन, २०५५, पशु ढुवानी मापदण्ड २०६४ र पशु कल्याण निर्देशिका २०७३ ले पशु कल्याणसँग सम्बन्धी विषयहरूलाई समेटेको छ । कस्ता कार्यहरू गर्न हुने वा गर्दा अपराध ठहरिने विषयहरूलाई परिभाषित गरेको छ । तोकिएको भन्दा बाहिर गएर काम गरेमा कानुनी कारबाही हुने व्यवस्था गरेको भएता पनि कार्यान्वयनको अवस्था फितलो हुँदा र पशु कल्याणको विषयहरू प्राथमिकतामा नपर्दा उठेका विषयहरू समाधानतिर उन्मुख हुन सकिरहेको छैन ।

प्रचण्ड गर्मी, चर्को घाम, अविरल वर्षा, आँधिबेहरी, असिना, हिमपात तथा बज्रपात जस्ता प्राकृतिक विपद् भइरहेको प्रतिकूल मौसम रहेको अवस्थामा, अँध्यारो वा पशुको ज्यान जान सक्ने उच्च जोखिम हुने अप्ठ्यारो कार्यस्थल तथा प्रतिकूल समयमा, दिनमा अधिकतम ८ घण्टा र हप्तामा ६ दिन भन्दा बढी काममा लगाउनु हुँदैन । पशुको शारीरिक तौलको ४० प्रतिशत भन्दा बढी भार बोकाउनु हुँदैन भने बुढो र गर्भवती पशुलाई उनीहरूको अवस्था अनुसार मात्र कार्यमा लगाउनु पर्दछ तर त्यसो गरिँदैन । पशु हो, यो बोल्दैन, जे गर्दा पनि हुन्छ भने बुझाइमा परिवर्तन ल्याउन जरुरी छ ।

पछिल्लो समय खास गरी उन्नत गाईबाट जन्मिने बाच्छा बाच्छीलाई आवश्यकता अनुसार दूध खान नदिने, स्याहार सुसारको आवश्यक प्रबन्ध नमिलाउने, बाटोमा लगेर फल्ने वा मर्ने वातावरण बनाउने गरेको देखिन्छ । साथै मुख्यतः नेपालको पश्चिमी भूभागमा सामुदायिक पशुहरूलाई छाडा छोड्न थालेको अवस्थाले झन् ठुलो समस्या उब्जाएको छ । छाडा पशुहरूको व्यवस्थापन अहिले टाउको दुखाईको विषय बनेको छ भने भरखरै नेपालगन्जबाट दैलेख लैजाने भन्दै सुर्खेतमा भिरबाट खसाली सामूहिक रूपमा गरिएको गौहत्या साह्रै निन्दनीय र दुखद रह्यो । यस्तो गर्न पाईदैन । यस प्रकारको कार्यलाई निरुत्साहित गर्न यस्तो कार्य गर्नेलाई कानुन अनुसार काँडा भन्दा काँडा कारबाही गर्नुपर्छ ।

पशुधनीले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्ने र प्रयोग हुन नसक्ने वा शारीरिक रूपमा कमजोर हुने वा आम्दानी लिन कठिन हुन सक्ने अवस्था देखेमा मार्ने अवस्थाको सृजना गर्ने वा सार्वजनिक स्थलमा लगेर छोड्ने कार्यले जिम्मेवारी पूरा हुँदैन भने यसले सभ्य नागरिकको परिचय पनि दिँदैन । त्यसैले यस विषयलाई गम्भीर रूपमा बुझ्न पर्ने अहिलेको अवस्था रहेको छ भने व्यवस्थापन पक्ष पनि उतिकै महत्त्वपूर्ण छ ।

हुन त, हाम्रो पूर्वजहरुले पशुपन्छीहरूको पूजा गर्ने, पशुपालनलाई प्राथमिकता दिई आफ्नो दैनिक जीवनमा उपयोग गर्ने र मठ मन्दिरहरूमा पशुपन्छीको बलि दिने चलन चलाएका हुन् । गाई पूजा, गोवर्द्धन पूजा, काग पूजा, कुकुर पूजा इत्यादिले गर्दा पशुपन्छी प्रतिको स्नेह र पशुलाई गरिने मित्रवत् व्यवहारलाई बर्षौदेखि हाम्रा पुर्खाहरूले आत्मसाथ गर्दै आएको देखिन्छ । यसले मानव जीवनमा प्रकृति र वातावरण संरक्षणमा यिनीहरू आवश्यक छन् भने कुराको पुष्टाई गर्दै आएको छ । तर देवी देउतालाई खुसी पार्ने र आफ्नो मनोकामना पुरा गर्नका लागी पशुपन्छीहरूको बलि दिने प्रथालाई व्यवस्थापन गर्न जरुरी छ । देवी देउताले पशुपन्छीलाई निर्दयी तरिकाले बलि दिँदा मात्र आफू खुसी हुने कहीँ भनेको वा लेखेको पाईदैन । तर चलि आएको चलनलाई उचित तरिकाले व्यवस्थापन गरी चलाउन आवश्यक छ ।

एउटा जीवलाई दःुख दिएर अन्य जीवको कल्याण हुने कुनै ग्रन्थमा लेखेको पाईदैन । बरु अरूको हित गरे आफ्नो पनि कल्याण हुने धेरै किताबहरूमा पढन पाइन्छ । प्रतिष्ठित मठ मन्दिरमा व्यापक रूपमा अव्यवस्थित तरिकाले दिने बलिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चासोको विषय बनिरहेको सन्दर्भमा पशुपन्छी बलिलाई कसरी व्यवस्थित र वैज्ञानिक बनाउन सकिन्छ त्यस तर्फ सरकार र सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ ।

पशु कल्याणका लागी सरकारी र गैर सरकारी क्षेत्रहरूबाट विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको भएता पनि आम नागरिकलाई पशु कल्याणको विषयमा सचेतना जगाउन जरुरी छ । पशु कल्याणसँग सम्बन्धी प्रचार प्रसारका समाग्रीहरु विभिन्न आम सञ्चारको माध्यमबाट जानकारी गराउने र प्राथमिक तहबाट नै पठाईने कोर्सहरूमा पशु कल्याणका विषयहरू समावेश गराउने तथा स्थानीय स्तरमा सञ्चालन गरिने गतिविधिीहरुमा पशु कल्याणका विषयहरू प्राथमिकताका साथ गर्ने किसिमको अवस्थाको सृजना गराउन जरुरी छ । यसका लागी सबै पक्षलाई परिचालन गराउन आवश्यक छ । सरकारले जारी गरिएका पशु कल्याण र सो सम्बन्धीका ऐन कानुनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन जरुरी छ । चर्चाका लागी कहिले काहीँ गरिने अनुगमनले पूर्णता पाउँदैन भने जिम्मेवारी पनि पुरा हुँदैन । अनुगमन प्रक्रियालाई प्रभावकारी र नियमित गर्न जरुरी छ ।

ढुवानीका लागी सवारी साधनको मापदण्ड तोक्ने र ढुवानीकर्ताले ढुवानी साधन खरिदका लागी अनुदान उपलब्ध गराउन पनि सरकार तयार हुनुपर्दछ । पशु हाट बजारको उचित व्यवस्थापन गर्न आवश्यक छ । पशु ढुवानी गर्दा तोकिएका मापदण्ड पुरा गर्ने व्यापारी र व्यवसायीहरूको अभिलेख राखी ढुवानी गर्न लगाउने र मापदण्ड विपरीत ढुवानी गर्न नपाउने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ । पशु हाट बजारमा पशु लोड गर्ने र अनलोड गराउने स्थलको निर्माण तथा तोकिएको स्थानहरूमा आराम गराउने खालका स्थानहरूको निर्माण गर्न जरुरी छ । बजारहरूमा पशु कल्याणका होर्डिङ बोर्डहरू राख्ने र सामुदायिक स्तरमा पशु कल्याण सम्बन्धी कार्यका लागी परिचालन गर्न विभिन्न संयन्त्र समेत निर्माण गर्न आवश्यक छ । पशुपन्छीलाई उपयोग गर्ने मात्र हैन, उनीहरूको कल्याणको विषयमा ध्यान दिन पनि जरुरी छ । पशु कल्याणका विषय सबैका सरोकारको विषय हो भन्ने महसुस गराई पशु कल्याणका विषयहरूलाई सकारात्मक तरिकाले कार्यान्वयन गराउन सके मात्र पशुपन्छी दिवसले सार्थकता पाउने छ ।

 

अध्यक्ष, नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएशन

Tags :
प्रतिक्रिया दिनुहोस