काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वअध्यक्षहरुले रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्काशित पत्रकारहरूको पुनर्वहालीको माग गर्दै शनिबार विज्ञप्ति जारी गरेका छन् ।
निष्काशित पत्रकारहरुको पुनर्वहालीको लागि नेपाल पत्रकार महासंघ निरन्तर आन्दोलनमा छ। तर, रेडियो व्यवस्थापन र नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालयले यसबारे सुनुवाई नगर्नु खेदजनक छ’, जारी विज्ञप्तिमा भनिएको छ ‘पेशागत निष्ठाका साथ लामो समय सेवा दिएका संचारकर्मीलाई बिनाकारण निष्काशन गरिएको गलत निर्णय सच्याएर ससम्मान काममा फर्काउन सरकार र रेडियो नेपाल व्यवस्थापनको ध्यानाकर्षण गराउँदछौं।’
रेडियो नेपालको दिपायल प्रसारण केन्द्रमा काम गर्दै आएका पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई गत भदौ २ गते कामबाट निष्काशन गरिएको थियो।
तीन पत्रकारहरुको पुनर्वहालीका लागि सरकार र रेडियो नेपाल व्यवस्थापनलाई थप दवावका लागि महासंघ केन्द्रीय समितिलाई अझ गम्भिर र शसक्त हुन ध्यानाकर्षण गराउँदछौँ विज्ञप्तिमा भनिएको छ ।
रेडियो नेपालले सुनुवाई र स्पष्टीकरणको मौकासमेत नदिई आफूहरुलाई कामबाट निष्काशन गरेको पीडित पत्रकारहरुको आरोप छ ।








