छ दिनदेखि मालपोत कार्यालयको कामकाज ठप्प « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छ दिनदेखि मालपोत कार्यालयको कामकाज ठप्प


६ आश्विन २०७६, सोमबार


जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत छ दिनदेखि ठप्प रहेको छ । सरकारले यही असोज १ गतेदेखि नै देशभरिका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने कार्यक्रम लागू गरेपछि सोही दिनदेखि उक्त कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको प्रमुख भूपबहादुर बोगटीले बताए ।

उनका अनुसार मालपोतको सबै कामकाज अनलाइन भएपछि यहाँबाट हुने मोठ, रोक्का, रजिष्ट्रेशन, नामसारी, मुद्दा, तामेली लगायतका सबै कामकाज कम्प्युटरबाट गर्नुपर्ने भएको छ । तर यहाँ त्यस्ता काम गर्ने कार्यरत कर्मचारीलाई कम्प्युटरसम्बन्धी ज्ञान नभएको तथा चलाउन नजानेकाले मालपोतको सबै कामकाज ठप्प रहेको उनले बताए।

उनले तालीम प्राप्त दक्ष जनशक्ति नहुँदा कामकाज अनलाइनबाट गर्न नसक्ने भएकाले कामकाज ठप्प रहेको जानकारी दिए । उनले विभाग र मन्त्रालयले यहाँका कर्मचारीलाई कम्प्युटरसम्बन्धी तालीम दिएर बिस्तारै उक्त प्रणाली लागू गर्नुपर्नेमा एक्कासि सबै काम अनलाइनबाट गर्न आदेश दिएपछि समस्या भएको बताए ।

मालपोत विभागले एस.आर.एस. कन्सल्टेन्सी काठमाडौँबाट तालीम दिनका लागि प्रतिनिधि गजेन्द्र ठाकुरलाई पठाएर एकहप्ते तालीम दिइसकेको छ ।

तर पनि यहाँका कर्मचारीले अनलाइनबाट काम गर्न नसकेका ठाकुरले जानकारी दिए । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशनका अध्यक्ष श्यामसुन्दर यादवले नयाँ प्रविधिबाट होस् वा पुरानो प्रविधिबाटै होस् कार्यालयले जनताको कामकाज गर्नुपर्ने बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस