सरकार निर्माणको महाअभियानमा व्यस्त : मन्त्री बाँस्कोटा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकार निर्माणको महाअभियानमा व्यस्त : मन्त्री बाँस्कोटा


२७ भाद्र २०७६, शुक्रबार


काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा व्यस्त रहेको बताएका छन् । आज पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ तथा कुशादेवी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्णलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार गत वर्ष बनाएका योजना सञ्चालनमा व्यस्त रहेको र यस वर्षदेखि सरकारले नतिजा दिने बताए ।

उनले भने, ‘हामी देश निर्माणको महाअभियानमा छौँ, त्यस कारण पनि अब सरकारको कामको नतिजा देखिँदै जानेछन् ।’ मन्त्री बाँस्कोटाले कुनै पनि देश एकैपटक, एकै वर्षमा नबनेको उल्लेख गर्दै सरकारले छोटो समयमा हालै मात्र योजना सम्पन्न भएको उदाहरण ‘पाइपलाइन तेल’ आयातलाई लिन आग्रह गरे ।

‘गत वर्ष बनाइएका योजनाअनुरुप यस वर्ष क्रमैसँग ठूला–ठूला योजना कार्यान्वयन हुँदै जानेछन्, केही योजनाको प्रतिफल यसै वर्ष पनि देखिनेछ’, उनले भने । मन्त्री बाँस्कोटाले वर्तमान सरकार अरुजस्तो ‘ढटुवा’ सरकार नभएको दाबी गरे । ‘हामी जे बोल्छौँ, त्यही गर्छौ, हामीलाई कसैको आलोचनाले हाम्रो महाअभियानमा फरक पर्दैन’, उनले भने । सरकारको सङ्कल्प ‘विकासदेखि विकाससम्म’ मात्रै भएको उल्लेख गर्दै सरकारको कामप्रति उत्साहजनक प्रतिक्रिया आइरहेको उनले बताए ।

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा जनताले औँला ठड्याउने अवस्था सिर्जना नगर्ने दाबी गरे । उनले भने, ‘सरकारको महाअभियानमा तपाईहरुको पनि साथ चाहिन्छ, सरकार विकास निर्माणमा थाक्दैन र आराम पनि गर्दैन ।’

मन्त्री बाँस्कोटाले गौरवका अन्य योजनामा नवलपरासीमा फलाम उद्योग स्थापना हुँदै गरेको, नेपालमा पट्रोलियम खानी एवं उत्पादनका लागि अन्वेषण परीक्षण गर्न विदेश पठाइएको र रु एक खर्ब १० अर्बको लगानीमा सुनकोशी नदीमा विद्युत् उत्पादनका लागि अध्ययन भइरहेको बताए । साथै, उनले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड केही समयमै छ लेनको निर्माण शुरु हुने र सम्पन्न भएपछि धुलिखेलदेखि चार लेनको बनाउन थालिने बताए ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य वसुन्धरा हुमार्गाइंले जनप्रतिनिधिले निर्वाचनका वाचा पूरा गर्दै गएकाले आउँदो निर्वाचनमा जनताले आफैँ थप योजना दिने अवस्था सिर्जना हुने दाबी गरे । प्रदेश नं ३ स्थित पूर्वाधार विकास कार्यालयको रु ३३ करोड ८३ लाखको लागतमा स्तरोन्नति हुने उक्त १६ किलोमिटर सडक आउँदो विसं २०७७ फागुन महीनामा सक्नुपर्ने सम्झौता गरिएको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए ।

मन्त्री बाँस्कोटाले आजै पाँचखाल नपा–१० बेलामा जिल्ला कार्यान्वयन एकाइ, नपा कार्यालयलगायत संस्थाको रु ३० लाखमा निर्माण सम्पन्न चार कोठे नवनिर्मित विद्यालय भवनको उद्घाटन एवं एसइई परीक्षामा उत्तीर्णलाई आयोजित सम्मान समारोहलाई सम्बोधन गर्दै शिक्षालाई समाज, रोजगार, अर्थतन्त्र, उत्पादन र प्रविधिमुखी बनाइँदै लगिने बताए ।

मन्त्री बाँस्कोटाले आजै धुलिखेल नपा–२ पदालीमा ठाडोखोला खानेपानी आयोजना ‘एक घर एक धारा’ उद्घाटन तथा वैकल्पिक मार्गका रुपमा रविओपी–पाँचखाल सडक स्तरोन्नति एवं पक्की कार्यको शिलान्यास गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस