नेपालले युएईलाई १६० रनले हरायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालले युएईलाई १६० रनले हरायो


२४ भाद्र २०७६, मंगलबार


काठमाडौं । एसिसी यु १९ एसिया कपको खेलमा नेपालले युएईलाई १६० रनले हराएको छ। २८६ रनको लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमाएको हो।

नेपालको बलिङसामु युएईका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले ठूलो अन्तरको जित पाएको हो। नेपालको ब्याटिङ पनि यसअघिमा दुई खेलमा भन्दा राम्रो रह्यो।

बलिङमा सागर ढकालले ३ विकेट लिए। यस्तै पवन सर्राफ, सूर्य तामाङले र रसिद खानले २र२ साथै कमल सिंह ऐरीले १ विकेट लिए।

श्रीलंकाको कटुनाएकेमा भएको खेलमा युएईका सयद हैदरले ४१ बलमा १५ रन, विरित्ते अरविन्दले ३४ बलमा २८ रन, अलिशन सरफुले २६ बलमा २१ रन, ओसामा हसनले २८ बलमा १६ रन बनाए।

यसअघि युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालको ओपनिङमा रित गौतम र पवन सर्राफ रन नबनाई आउट भएका थिए। त्यसबाट दबाबमा परेको नेपाली ब्याटिङ आसिफ शेख र रोहित पौडेलले केही उकासेका थिए।

आसिफले ५४ बलमा ४५ रन, रोहितले ८३ बलमा ६७ रन, सन्दीपले ५३ बलमा ४८ रन, रसिदले ४६ बलमा ४४ रन साथै कमलले २५ बलमा ४१ रन बनाए। यस्तै कुशल मल्लले २१ बलमा २२ रन बनाए। नेपालले निर्धारित ५० ओभर पूरा खेलेर ९ विकेट जाँदा २८५ रन बनाएको थियो।

युएईका आकाश ताहिरले ३, सन्चित शर्माले ३, कार्तिक पालानियाप्पनले २ साथै रिसब मुखर्जीले १ विकेट लिएका थिए। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले हारेको नेपाल समूह चरणको अन्तिम खेलमा भने जित निकाल्न सफल भएको हो।

प्रतिक्रिया दिनुहोस