म्याग्दीमा पहिलोपटक मखमली फूल र सिउडी फलको व्यावसायिक खेती शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

म्याग्दीमा पहिलोपटक मखमली फूल र सिउडी फलको व्यावसायिक खेती शुरु


२२ भाद्र २०७६, आइतबार


गलेश्वर । म्याग्दीमा पहिलोपटक मखमली फूल र डाइगन फुड (सिउडी फल)को व्यावसायिक खेती शुरु भएको छ । बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा हरियाली समूहले सञ्चालन गरेको नयाँ ढाँचाको आधुनिक कृषि फार्ममा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती शुरु भएको हो ।

रु छ करोडको लगानीमा शुरु भएको यस कृषि फार्ममा तरकारी खेती, माछापालनका साथै मौरीपालन, फूल र सिउडी फलको व्यावसायिक खेती शुरु गरिएको हरियाली गु्रप सञ्चालक समितिका सदस्य दुर्गाबहादुर कार्कीले बताए ।

उनको अनुसार नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर पहिलो पटक तीन हजार ५०० वटा सयपत्री फूलका बिरुवा लगाइएको छ । फूल लगाएको ठाउँको माथिल्लो पट्टि सेरना जातका सय घार मौरी रहेका छन् । म्याग्दीमा कतै नगरिएको डाइगन फुडका सय बिरुवा पनि लगाइको तरकारी फिल्डका इन्चार्ज बुद्धि सुनारले बताए।

कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणालाई ‘हरियाली मोडल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

‘विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘आमुल’मोडललाई पछ्याउँदै सोही ढाँचालाई समावेश गरी फार्म सञ्चालन गरिएको फार्मका सञ्चालक समितिका सदस्य दुर्गाबहादुर थापाले बताए । थापाका अनुसार यो फार्म म्याग्दीका लागि नमूना परियोजना हो ।

‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ’, थापाले भने, ‘यसबाट स्थानीयलाई रोजगारी तथा तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाई बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य रहेको छ ।’ छत्तीस जना कृषकले १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरेका छन् ।

फार्ममा तरकारी खेती, सिउडी फल, माछापालन, मौरीपालन, फूलखेती गरिएको छ भने निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पक्षी कालिज पालन गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए ।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ४३ जना कर्मचारी तथा मजदूरमध्ये अधिकांश जग्गाधनी छन् । ‘बजार नजीक, सडक सुविधा, अनुकूल हावापानी र ठूलो फाँट भए पनि खण्डीकृत जमीन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिँचाइको अभावले कृषि जीविकोपार्जनमा सीमित थियो’, जग्गाधनी भगवान् खड्काले भने ।

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरी लिफ्ट प्रविधिबाट पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनी, ग्रास र कमन कार्प जातका माछा पालिएको छ ।

मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा २२ हजार ब्वायलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताए । रु ४० लाख बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको प्रबन्ध निर्देशक केसीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस