आदिकवि भानुभक्त क्याम्पसद्वारा ५ सय ७३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आदिकवि भानुभक्त क्याम्पसद्वारा ५ सय ७३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान


२१ भाद्र २०७६, शनिबार


दमौली । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले ५७३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा क्याम्पसमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गरेको हो ।

क्याम्पसमा विभिन्न दानवीरले स्थापना गरेको छात्रवृत्ति कोषमार्फत विद्यार्थीलाई रु १५ लाख पाँच हजार २० बराबरको छात्रवृत्ति प्रदान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

क्याम्पस प्रमुख हड्खलेका अनुसार स्नातक प्रथमतर्फ ४९ जनालाई रु एक लाख ७९ हजार चार सय, स्नातक द्धितीयतर्फ ४० जनालाई रु एक लाख ५३ हजार, स्नातक तृतीयतर्फ ३३ जनालाई रु ९४ हजार २००, स्नातक चौथोतर्फ २२ जनालाई रु ६० हजार, कक्षा ११ तर्फ ६४ जनालाई रु एक लाख ९० हजार २००, कक्षा १२ तर्फ ५४ जनालाई रु एक लाख ४६ हजार २०० प्रदान गरिएको छ ।

नगरपालिका प्रावधान छात्रवृत्तिमार्फ कक्षा ११ का १९ जनालाई रु दुई लाख ११ हजार २००, छुट छात्रवृत्तितर्फ कक्षा ११ का १२१ लाई रु एक लाख ७४ हजार २५५, छुट छात्रवृत्ति स्नातकतर्फ १६७ लाई रु दुई लाख ९६ हजार ५६५ र स्नातकोत्तर द्धितीयतर्फ चार जनालाई रु १५ हजार छात्रवृत्ति प्रदान गरिएको क्याम्पसले जनाएको छ ।

छात्रवृत्ति वितरण प्रणाली प्रभावकारी र निष्पक्ष बनाउन क्याम्पस निर्देशिका २०६७ बमोजिम क्याम्पस सञ्चालक समितिका उपाध्यक्षको संयोजकत्वमा छात्रवृत्ति छनोट तथा सिफारिस समिति गठन गरिएको छ ।

‘क्याम्पसले जेहेन्दार, गरीब, जनजाति, दलित, अपाङ्गता भएका छात्रछात्रालाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ’, क्याम्पस प्रमुख हड्खलेले भने ।

क्याम्पसमा ४४ वटा छात्रवृत्तिकोष र ६७ वटा अक्षयकोष स्थापना गरिएको छ । छात्रवृत्तिकोषमा रु ४९ लाख १९ हजार ६२४ र अक्षयकोषमा रु ५३ लाख ७९ हजार ८०९ छ ।

विसं २०४४ मा समुदायबाट सञ्चालित क्याम्पसमा ८० प्रतिशत छात्रा अध्ययन गर्ने गरेका छन् । कूल दुई हजार ५०० विद्यार्थीमध्ये दुई हजार विद्यार्थी छात्रा रहेको क्याम्पसले जनाएको छ । कूल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् । कूल विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् ।

क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको क्याम्पसले जनाएको छ ।

क्याम्पसलाई मानक विश्वविद्यालय (स्वायत्त क्याम्पस) मा विकसित गर्ने गरी पूर्वाधार विकासमा जुटेको क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । ‘क्याम्पसको शैक्षिक गुणस्तरमा सुधार ल्याउने कार्यक्रममा क्याम्पसलाई केन्द्रित गरेका छौँ’, बस्नेतले भने, ‘क्याम्पस गुरुयोजना निर्माणको चरणमा छ, यसले नयाँ थप शैक्षिक कार्यक्रमको अध्ययन अध्यापनको व्यवस्था मिलाइरहेको छ ।’

क्याम्पसमा हाल कक्षा ११/१२ देखि स्नातक र स्नातकोत्तर तहसम्मको पढाइ सञ्चालन गर्दै आइरहेको छ । कक्षा ११/१२ मा विज्ञान र कम्प्युटर विज्ञानका साथै स्नातकमा बिए, बिएडमा बिआइसिटी, विज्ञान शिक्षा, गणित, अङ्ग्रेजीजस्ता विषय र व्यवस्थापनमा बिबिएस कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

क्याम्पसले आर्थिक वर्ष ०७५/७६ मा सामुदायिक क्याम्पसतर्फ नेपालको दोस्रो उत्कृष्ट क्याम्पसको उपाधि प्राप्त गरेको थियो भने सोही वर्ष मिसौरी सदन स्टेट विश्वविद्यालयसँग शैक्षिक सहकार्यको सम्झौता गरेको थियो । क्याम्पस प्रमुख हड्खलेका अनुसार चालू आर्थिक वर्षमा क्याम्पसले डिजिटल कक्षाकोठाको व्यवस्था गर्न लागेको छ ।

साथै विज्ञान प्रयोगशाला भवन निर्माण, युजिसी भवन निर्माण, गुरुयोजना लागू, कम्प्युटर प्रयोगशाला सञ्चालनलगायत लक्ष्य राखेको छ । क्याम्पसमा सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक र शिक्षण सहायक गरी ६६ प्राध्यापक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस