कर्मचारीले सहसचिव र उपसचिवमा प्रतिस्पर्धा गर्न नपाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीले सहसचिव र उपसचिवमा प्रतिस्पर्धा गर्न नपाउने


२० भाद्र २०७६, शुक्रबार


काठमाडौँ। निजामती सेवामा कार्यरत कर्मचारीले सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।

शुक्रवार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राङ्कित प्रथम(सहसचिव) र द्वितीय श्रेणी(उपसचिव) को परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्ने सहमति गरेको हो ।

हाल कायम रहेको सेवामै रहेर माथिल्लो तहको खुल्ला परीक्षामा सहभागी हुन पाउने व्यवस्थामा बन्देज लगाउँदै अब निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था ल्याइएको हो ।

यसरी राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने निजामती कर्मचारीको त्यसअघिको सेवा अवधि पनि गणना नहुने प्रावधानमा सांसदहरूले सहमति जनाएका छन् । यसअघि खुला प्रतिस्पर्धाबाट बढुवा भए पनि सेवा अवधि जोडिने व्यवस्था रहेको थियो ।

राजपत्र अनङ्कित द्वितीय श्रेणी(खरिदार) मा ८० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्तुत गरेको विधेयकमा सांसदहरूले सहमति जनाएका छन् । तर आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव र उपसचिव बन्न पाउने व्यवस्था भने कायमै छ ।

मन्त्रालयले शतप्रतिशत नै खुला प्रतिस्पर्धाको प्रावधान राखेकोमा सांसदहरूले त्यसलाई परिवर्तन गरी २० प्रतिशत आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्ने सहमति गरेका हुन् ।

त्यसै गरी राजपत्र अनङ्कित प्रथम श्रेणी (नायव सुब्बा) को पदपूर्ति खुलाबाट ५० र कार्यक्षमता मूल्याङ्कन(फाइल बढुवा) बाट ५० प्रतिशत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस