मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना


२० भाद्र २०७६, शुक्रबार


काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको बताइएको छ ।

मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई वर्षा हुने क्रम जारी रहने मौसमविद्को भनाइ छ । यसको प्रभावले तीन दिन देशभर वर्षा हुनेछ ।

‘पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ’, मौसमविद् समिर श्रेष्ठले भने । मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालदेखि बङ्गालको खाडीसम्म बुझ्नुपर्ने हुन्छ ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

साथै मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिम भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४४ मिलिटिर वर्षा भएको छ । त्यस्तै दिपालयमा ३.८, वीरेन्द्रनगरमा ११.२, जुम्लामा ८.२ र पोखरामा १.० मिलिमिटर वर्षा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस