कर्णाली विकासको डिजिटल नक्सा तयार हुँदै « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

कर्णाली विकासको डिजिटल नक्सा तयार हुँदै


२० भाद्र २०७६, शुक्रबार


Karnali

जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताए।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताए । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक क्षेत्र सजग हुनुपर्नेमा जोड दिए ।

अब विकासका लागि हामी ठूला योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्छौँ, उनले भने, तयार भएका योजनाहरुलाई कार्यान्वयनमा लैजान्छौँ । सरकारले विकासका लागि पूर्वाधार क्षेत्रको परियोजना बैंक तयार गरेको जनाउँदै उनले भने, प्रदेशको समानुपातिक विकासका लागि हामीले २४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक ढङ्गबाट बजेट विनियोजन गरेका छौँ ।

कर्णालीलाई कृषि पर्यटनका रुपमा विकास गर्न जमीनको व्यवस्थीकरण गर्ने उनको भनाइ थियो । यसका लागि मध्यपश्चिम विश्वविद्यालयले प्राङ्गारिक पाठ्यक्रम तयार गरिरहेको उनले बताए । कर्णालीको निरक्षरतालाई पूर्णरुपले हटाउन प्रदेश सरकारले लिएको साक्षरता अभियानलाई लक्ष्यविन्दुमा पुर्‍याउने उनको भनाइ थियो ।

राजनीतिका लागि विकास गर्ने संस्कार हटाउनु आजको आवश्यकता रहेको बताएका उनले सुर्खेत–हिल्सा सडक निर्माणमा सरकारले प्रधानता दिएको बताए । संघीय सरकारले अधिकार नदिएकाले कर्णालीको अपेक्षित विकास हुन नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस