उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद


१३ भाद्र २०७६, शुक्रबार


रोल्पा । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन् रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उनको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशङ्का गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाले । सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि थापा दम्पती एक्ला एक्लै बस्न थाले । निर्मला सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरेर पेट पाल्नुपर्ने बाध्यतामा पुगिन् ।

रोल्पा नगरपालिका–९ ह्वामाकी मिना डाँगीले १६ वर्षमा विवाह गरिन । विवाह गरेको एक वर्षमा जेठो र अर्को एक वर्षपछि कान्छो छोरा जन्मिए । दुई छोरा जन्माउँदा उनको उमेर १८ वर्षमात्रै भएको थियो । अहिले उनको उमेर २० वर्ष भयो । यतिबेला उनीसँग न छोरा छन् न त श्रीमान् नै । श्रीमानले दिनहुँ कुटपिट गर्ने र खान लाउनसमेत नदिएपछि सम्बन्ध टाढिँदै गयो । परिवारिक अवस्था राम्रो नहुँदा दुई छोरालाई राम्रोसँग रेखदेख पुग्न सकेन । फलतः तीन वर्ष पूरा भएका जेठो छोरा गौरवको मृत्यु भयो । उनी अहिले सदरमुकाम लिवाङमा एकल जीवन बिताउँदै मजदूरी गरेर जीविका चलाइरहेकी छन् ।

जिल्लामा सम्बन्धविच्छेदका प्रतिनिधि घटना हुन् यी । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका मुद्दामध्ये ५३ प्रतिशत बढी मुद्दा सम्बन्धविच्छेदका थिए । गत आर्थिक वर्ष अदालतमा ३९९ मुद्दा दर्ता भएका थिए । त्यसरी दर्ता भएका मुद्दामध्ये झण्डै आधाभन्दा बढी अर्थात् २१७ मुद्दा सम्बन्धविच्छेदका थिए । सम्बन्धविच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको यकिन सङ्ख्या योभन्दा अझ धेरै हुनसक्ने अनुमान गरिएको छ ।

जिल्लामा १६ वर्षीय किशोरकिशोरीदेखि ७१ वर्षीय वृद्धवृद्धाले समेत सम्बन्धविच्छेद गरिरहेका छन् । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा पनि जिल्लामा सम्बन्धविच्छेदको मात्रा दिनानुदिन वृद्धि हुँदै गएको देखिन्छ । अदालतमा आर्थिक वर्ष २०७२/०७३ मा १२४ मुद्दा मात्रै सम्बन्धविच्छेदका दर्ता भएका थिए । आव २०७४/०७५ यो सङ्ख्या बढेर दोब्बर पुगेको थियो । उक्त आव २२७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आवमा २१७ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएको अदालतको अभिलेखमा उल्लेख छ ।

यसरी दर्ता भएका मुद्दामध्ये सबैजसो श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लाउन नदिने, माइती जाँदासमेत खोज खबर नगरेकाजस्ता आरोपसहितका मुद्दा पर्ने गरेको अदालतका श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले जानकारी दिए । सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा श्रीमान् विदेश रहेका महिलाले दिने गरेका बताइएको छ । लामो समयसम्म श्रीमान् घर नआउँदा श्रीमतीले अर्कैसँग सम्बन्ध राख्दा यस्तो समस्या देखिने गरेको बताइन्छ ।

देखा सिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले पनि सम्बन्धविच्छेदको घटना बढेको हुनसक्छ रोल्पा जिल्ला अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले बताए । उमेर नपुग्दै आदर्श जीवनको परिकल्पनासँगै अपरिपक्व निर्णयले बालविवाह गर्ने उमेर छिपिएसँगैको परिपक्वताले सम्बन्धविच्छेद गर्ने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण लामो समयसम्म श्रीमान् श्रीमतीको भेटघाट नहुनु, चेनताको अभाव, अशिक्षा र गरीबीले जिल्लामा सम्बन्धविच्छेदलाई मलजल गरिरहेको आचार्यले बताए । न्यायालय वा कानून व्यवसायीसमक्ष आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले उनीहरु सहयोगीका साथ उजुरी गर्न आउने गरेका बताइन्छ ।

सम्बन्धविच्छेदमा अग्रसर हुँदै पुरुष

महिलाले मात्रै सम्बन्धविच्छेद गर्ने विगतको परम्परालाई तोड्दै पुरुषसमेत सम्बन्धविच्छेदमा लालायित हुने गरेका देखिएको छ । पछिल्लो पटक तर्जुमा गरिएको मुलुकी संहिताले पुरुषले समेत सम्बन्धविच्छेदको उजुरी दिन पाउने कानूनी व्यवस्था गरेसँगै जिल्लामा सङ्ख्या पनि बढ्दै जान थालेको छ । अघिल्लो आवको भदौ १ गतेदेखि असार मसान्तसम्म जिल्लामा २६ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेको अदालतले जनाएको छ ।
सम्बन्धविच्छेदका लागि मुद्दा बोकेर अदालत जाने पुरुषले श्रीमतीले घरको चल सम्पती हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेकोजस्ता आरोप लगाउने गरेका छन् । यसरी सम्बन्धविच्छेद गर्ने पुरुषमध्ये अधिकांश समय घर बाहिर हुने देखिने गरेको बताइन्छ ।

आत्मनिर्भरताको खोजीमा

सम्बन्धविच्छेद पछि महिलाको दैनिकी अत्यन्तै चुनौतीपूर्ण हुने गरेको छ । सम्बन्धविच्छेद पछि सामाजिक दृष्टिकोणमा पनि बदलाव देखिने गर्दछ । घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाको अनुभव छ ।

महिला हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्धविच्छेद बढ्दै गएको बताइएको छ । श्रीमानले सामान्य हिंसा गर्दा सहदै आएका महिला श्रीमानको अत्याचार बढेपछि भने अदालतबाट सम्बन्धविच्छेद गर्न बाध्य हुने गरेको मेलमिलापकर्ता आचार्यले बताए । मादकपदार्थ सेवन गर्ने, परस्त्रीसँग सम्बन्ध भएका तथा घरमा पालनपोषण नगरेका कारण सम्बन्ध बिग्रिएकाले सम्बन्धविच्छेद गर्ने गरेको आचार्यले बताए ।

यस्ता पीडित महिलालाई सामाजिक र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरी राज्यले सहयोग गर्नुपर्ने मानव अधिकारका लागि एकल महिला समूहका अध्यक्ष तुलसा आचार्यले बताइन् । सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्धविच्छेद गर्नेको मात्रामा कमी आउन नसकेको बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस