न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने


१० भाद्र २०७६, मंगलबार


बलेवा । न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ?  यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो । तर न्यून दृष्टियुक्त भएर पनि अमिट केसी विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखि रहेका छन् ।

दुई वर्ष पहिले सगरमाथाको आठ हजार मिटर उचाई पुगेर फर्किएका बागलुङ जैमिनी नगरपालिका–४ सर्कुवाका न्यून दृिष्टयुक्त केसी पुनः सगरमाथा चढ्ने लक्ष्य लिएका छन् । दुई वर्ष अघि सगरमाथा चढ्न गएका केसी साउथ पोलमा पुगेर अक्सिजन सकिएपछि फर्केका थिए ।

आठ हजार मिटरको साउथ पोलमा मौसम खराबीले २४ घण्टासम्म बस्नुपरे पछि उनको अक्सिजन सकिएको थियो । तत्काल अक्सिजन थप्न दुई हजार डलर लाग्ने भएपछि पैसा र तत्कालै अक्सिजन नपाएर उनलाई फर्किनुपरेको थियो । केसीले आगामी वैशाखमा सगरमाथा चढ्ने तयारी थालेका छन् । पहिलो पटक दुई वर्षअघि चढ्न जाँदा प्राविधिक कारणले चुचुरोमा पुग्न नसकेर फर्किनुपरे पनि यस पटक चुचुरो पुग्ने सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

विश्वमा नेपालको नाम उच्च राख्न र आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्न आफूले सगरमाथा चुचुरोमा पुग्ने लक्ष्य लिएको उनले बताए । यसअघि न्यून दृष्टियुक्त व्यक्ति अमेरिकी नागरिक ‘एरिक एहिङ मेयर’ले सगरमाथाको आठ हजार ८०० मिटर उचाइमा पुगेर फर्केको रेकर्ड छ ।

अघिल्लो वर्ष सरकारले कानून संशोधन गरेर सगरमाथा चढ्न रोक लगाएपछि उनी निरास भए र सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा चढ्न पाउने फैसला गरेको थियो । पर्वतारोहण नियमावलीको नियम ३ संशोधन नगर्न रिट परेपछि संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्ति पनि सगरमाथा चढ्न पाउने फैसला गरेको हो ।

समानताको हकविपरीत सरकारले नियम संशोधन गरेको भन्दै केसीले रिट दायर गरेका थिए । सबै प्रकारका प्रशिक्षण लिइसकेको, अन्य साना हिमाल पनि चढेको र सगरमाथाको पनि आठ हजार मिटरमा पुगेकाले सरकारको अनुमति पाएपछि जान सक्ने केसीले बताए ।

‘पैसाको समस्या हो, जुटाएपछि जाने योजना छ’, केसीले भने, ‘६० हजार अमेरिकी डलर भए बन्दोबस्तीका सामग्री, गाइड खर्च र खानासमेत पुग्छ ।’ त्यसका लागि उनी अहिले आर्थिक सङ्कलन अभियानमा जुटेका छन् । घरपरिवारबाटै बोझ सम्झने अपाङ्गता भएका व्यक्तिलाई सबैको प्रेरणाको स्रोत बनाउन सक्नुपर्छ भनेर उनले साहसिक कदम उठाएको बताए । उनले भने, ‘मैले चाहेको कुरा म पुरा गर्न सक्छु भन्ने आत्मविश्वास पनि बढेको छ । ‘

Tags :
प्रतिक्रिया दिनुहोस