गौरा पर्व सुदूरको सान अनि पहिचान « प्रशासन

गौरा पर्व सुदूरको सान अनि पहिचान


प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १९:१५

नेपाल कला र संस्कृतिका हिसाबले आफैमा एक सम्पन्न राष्ट्र हो । विविध प्रथा, परम्परा अनि चाडपर्व यहाँका अमूल्य सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदा हुन् । पूर्वको चण्डी नाच, मध्ये क्षेत्रको कुमारीको रथ यात्रा, पश्चिम क्षेत्रको मारुनी नाच अनि मध्य र सुदूरपश्चिम क्षेत्रका देउडा र छलिया नाच यस देशका ठुला चिनारी हुन् । यिनै चिनारीहरूको माझमा सुदूरको मौलिक पहिचान झल्काउने गौरा पर्व पनि एक हो ।

अझ विशेष गरी गौरा पर्व सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । डोटी गौणा र कुमाउँ क्षेत्रमा परापूर्व कालदेखि यस पर्वलाई भव्यताका साथ मनाइँदै आएको छ ।

भाद्र शुक्ल पञ्चमीमा सुरु भई करिब एक हप्ता सम्म धूमधामका साथ विविध कार्यक्रमहरू आयोजना गरी गौरा पर्वलाई मनाइने गरिन्छ ।

ऐतिहासिक कथन

प्राचीन समयका हैह्य्रवंशी राजा मध्येका सहस्त्रार्जुनले भृगु वंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार व्रत रही उपासना गरेको फलस्वरूप एक ब्राह्मणी गौरीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो । सोही मान्यताका आधारमा गौरी अर्थात् गौराको पूजन कार्य गर्नाले पति तथा सन्तानको सुस्वास्थ्य एवम दीर्घायु हुने धार्मिक विश्वास रही आएको छ ।

यस अलावा पार्वतीले कठोर तपस्या गरी शिवलाई प्राप्त गरेका पौराणिक कथन अनुसार यस क्षेत्रका महिलाहरू निराहार व्रत गरी पार्वतीको प्रतिमा स्वरूप गौरा र शिवको प्रतिमा स्वरूप महेश्वरलाई पूजा अर्चना गर्ने गर्दछन् ।

गौराका प्रचलनहरू
भाद्र शुक्ल पञ्चमीको दिन पाँच प्रकारका अन्न गहत, गहुँ, केराउ, मास र गुराँस तामा वा पित्तलको भाँडामा भिजाउने र घरको कुनै कुनामा राख्ने गरिन्छ । यस प्रकारको अन्नको मिश्रणलाई विरुडा भनिन्छ । विरुडा खास गरी गौराको मुख्य प्रसादको रूपमा लिइन्छ । दोस्रो अर्थात् षष्ठीका दिन अघिल्लो दिन भिजाएका विरुडा गाउँको नजिकैको पानीको मुहान सम्म लगी पखालिन्छ र गौराको प्रतिमा९जसलाई नोली गोरा भनिन्छ० बनाई पूजा गरिन्छ ।

तेस्रो दिन अर्थात् शुक्ल सप्तमीमा गाउँ भरिका महिला शुद्ध चोखो भई साँझ पख खेतबारीमा जाने र त्यहाँबाट धान, तिल, साउँ, काँस र कुश मिसाएर गौरीको प्रतिमा बनाई बेहुलीको रूपमा गौरालाई र शिवको प्रतिमाको रूपमा महेश्वरलाई पालैपालो शिरमा राखी सगुन९फाग० गाउँदै गौरा राख्ने एक छुट्टै घर सम्म ल्याउँछन् । यस समयमा पुरुषहरू देउडा खेल खेल्ने, चैते, धुमारी गाउने एक आपसमा दुखसुख साँटासाँट गर्ने गर्दछन् । गौरा ल्याई राखिएको घरको आँगनमा यति सम्म रमाइलो हुन्छ की मानौँ कुनै विवाह कार्यक्रम भइरहेको छ ।

शिव र पार्वतीको प्रतिमाहरूमा विवाहको पुरापुर कर्मकाण्डहरू गरिने भएकाले शिव पार्वतीको विवाह महोत्सव जस्तै गौरा पर्वलाई मान्ने चलन रही आएको छ । चौथो दिन गौराष्ठमीमा शिव र पार्वतीका प्रतिमाहरूमा गौराको प्रसाद स्वरूप विरुडा अनि अन्य पुजाका सामाग्रीहरू चढाइन्छ । गौरामा एक प्रकारको रातो, कालो, निलो र हरियो धागोबाट बनाइएको माला दुबधागो चढाइन्छ अनि विवाहित महिलाहरूले सोही प्रकारको दुबधागो घाँटीमा बाँध्ने चलन छ । जसरी विवाहित पुरुषहरूले जनै धागो धारण गर्ने गर्छन् सोही मान्यता अनुरूप विवाहित महिलाहरू दुबधागो बाँध्ने गर्दछन् । एवम् प्रकारले गौरा घरमा गौरा राखिए सम्म आठ बाला, चैती, धुमारी, देउडा खेल, न्याउल्या खेल लगाई बुढा पाका, युवा युवती सबैमा उत्साह एवम उमङ्गको माहौल हुने भएकोले यस पर्वलाई दुस्ख बिर्साइ सुखको बहार ल्याउने पर्वको रूपमा समेत लिइन्छ ।

गौरालाई बिजोर ३/५/७ दिनसम्म घरमा राखेपश्चात् शुभ दिन हेरी मन्दिरमा लगी विसर्जन गर्ने गरिन्छ । गौरा विसर्जन गर्ने कार्यलाई यस क्षेत्रमा गौरा सेलाउने भनिन्छ । यो कार्य सबै गाउँमा एकै समयमा हुँदैन, आफू अनुकूल समयमा गौरा विसर्जन गर्ने गर्दछन् । गौरा विसर्जनका बेला प्रत्येक गाउँगाउँमा ठुलो मेला लाग्ने गर्दछ । केटाकेटी, युवा युवती, बूढाबूढी नयाँ नयाँ पहिरनमा सजिई गौराका सांस्कृतिक खेलहरू खेल्ने गर्दछन् । गौरा सेलाउने समयमा अविवाहित नारीहरूले शिरमा शिव र पार्वतीको प्रतिमा राखी गौरा नचाउँदै मन्दिर लैजाने र विसर्जन गर्ने गर्दछन् । विवाहित महिलाहरू भने मन्दिर प्रवेश नहुने प्रचलन छ । हिजो आज यो पर्वको महिमालाई अझ बढवा दिन गौरा महोत्सवको समेत आयोजना हुने गरेको छ ।

पर्वको मौलिकता
गौरा पर्व सुदूरपश्चिम क्षेत्रको पृथक् पहिचान बोकेको पर्व हो । यो पर्व अन्य क्षेत्रमा विरलै मात्रामा मनाइने गरिन्छ । हिन्दु धर्मावलम्बी सुदूरपश्चिम बासीहरूको प्रथा र परम्पराहरूको जीवित इतिहास केवल गौरा पर्वबाट प्रदर्शित हुन्छ । यस पर्वका बेला गरिने विविध सांस्कृतिक गतिविधिहरूमा ऐतिहासिक व्यक्तित्वहरूको महिमा, चरित्र गाथाहरू व्यक्त गर्ने गरिन्छ । जुन पुस्तौँ पुस्ता सम्म हस्तान्तरित हुन्छ र इतिहासले जीवन्तता पाउँछ । यस क्षेत्रको रहन सहन, भेषभुषा, अनि भाषामा समानता देखाउने पर्व नै गौरा पर्व हो । यही पर्वको कारण यस क्षेत्रका मानिसहरूको भावना मिल्ने गर्दछ । भावनात्मक रूपमा एक भएको महसुस हुने अवस्था सिर्जना हुन्छ । यस क्षेत्रका मानिसहरूको भावना यति सम्म मिल्छ की साहेद यहाँको राष्ट्रियता नै यही भावनामा अन्तर्निहित छ । यस क्षेत्रका बाजागाजा, सङ्गीत, साहित्य र संस्कृतिको योग यही पर्वको बेला देखा पर्ने भएकाले यो पर्वको मौलिकता अमूल्य छ, अथाह छ, अविस्मरणीय छ ।

गौरा पर्वको प्रवर्द्धन वर्तमानको आवश्यकता
गौरा पर्वलाई गत विगत वर्षहरूमा जुन हिसाबले महत्त्व दिने गरिएको थियो त्यस किसिमको महत्त्व अहिलेको पुस्ताले दिन नसकेको महसुस सर्वत्र भइरहेको छ । सुदूरको गौरव, सुदूरको सान, सुदूरको पहिचानको रूपमा स्थापित गौरा पर्व र यसको वास्तविकता अनि यथार्थता सँग हरेक सुदुरपश्चिमेलीहरुलाई परिचय गराउने र यसको मौलिकताको बारेमा पुस्ता हस्तान्तरण गर्नु अपरिहार्य भई सकेको छ । यसर्थ यो पर्वलाई भविष्यको पुस्तासम्म जीवित राख्न निम्न कार्य गर्न सकिन्छ
♦ सुदूरपश्चिम प्रदेश सरकारले यो पर्वलाई प्रवद्र्धन गर्न गरी विशेष गुरु योजना बनाउनु पर्दछ,
♦  स्थानीय सरकारहरूले गौरा पर्वलाई प्रोत्साहित गर्न गरी छुट्टै वार्षिक कार्यक्रम बनाउनु पर्दछ,
♦  स्थानीय नागरिक समाज, युवा समाज सेवी, शिक्षण संस्थाहरू, सरकारी एवम गैरसरकारी संस्थाहरूले आ-आफ्ना क्षेत्रबाट गौरा पर्वलाई प्रोत्साहन मिल्ने खालका कार्यक्रम तय गरिदिनु पर्दछ,
♦  राजनीतिक दल, बुद्धिजीवी पत्रकारहरू आदि सबैले यो पर्वलाई महत्त्वपूर्ण स्थान दिई यसको वास्तविकताको खोज अनुसन्धान सहित जीवन्तता दिन चनाखो हुन सक्नु पर्दछ ।
♦  आधुनिक युगका पुस्ताहरूलाई पर्वको मौलिकताको सम्बन्धमा कन्भेन्स गर्ने गरी शैक्षिक कार्यक्रम लागु गर्न गरिनु पर्दछ ।

अन्तमा
मानव सभ्यता के कसरी विकसित भयो भनी ऐतिहासिक जानकारी गौरा पर्व जस्तै सांस्कृतिक पर्वहरूले दिने गर्दछन् । अझ विशेष गरी रहन सहन, भेषभुषा, चालचलन र अन्तरमनका भावनाका बारेमा विश्व समुदायलाई परिचय प्रदान गर्न यस्ता पर्वहरू सहायक सिद्ध हुने भएकाले गौरा लगायत नेपालका सबै सांस्कृतिक पर्वहरूलाई यिनीहरूको मौलिकता झल्कने गरी संरक्षण र प्रवर्द्धन गर्न सबै क्षेत्रको सार्थक प्रयासको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस