बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण शुरु « प्रशासन

बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण शुरु


प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १५:४५

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर बनाउन थालेको हो ।

१७ औँ शताब्दीमा राजा प्रताप मल्लले काठमाडौँको जमलस्थित निर्माण गरिएको रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका थिए । भूकम्प गएको चार वर्ष बितिसक्दा बल्ल मन्दिर पुनःनिर्माणको काम शुरु गरिएको हो । मन्दिर पुरानैशैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो ।

मन्दिर, मन्दिरसम्म जाने पुल र वरपरको बगैँचा १० महीनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिए/तुलसी कन्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो । चुनासुर्कीको प्रयोग गरी मन्दिरको पर्खाल बनाउने काम भइरहेको छ । हाल मन्दिर पुनःनिर्माणका लागि दैनिक ३० देखि ३५ कामदारले काम गरिरहेका छन् ।

इयुको आर्थिक सहयोगमा प्राधिकरणको सम्पदाविज्ञका रुपमा रहनुभएका राजु मानन्धरका अनुसार प्राधिकरणसँग सम्झौता भएको सात दिनपछि मन्दिर पुनःनिर्माणको काम शुरु भएको हो । पहिला काम गर्ने क्रममा राखिएको सिमेन्टको प्लास्टर भत्काउने, मन्दिरसम्म रहेको पुल भत्काउनेलगायतका काम भइरहेको छ ।

गत साउन १४ गते मन्दिरमा क्षमापूजा गरेपछि मन्दिर भत्काउने कामको शुरु भएको हो । चन्द्रशमशेरको पालमा पुनःनिर्माण गर्दा गुम्बजशैलीमा निर्माण गएिको मन्दिर भत्काएर पुरानैशैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।

मन्दिरको विवाद के थियो

भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै शुरु भएको थियो तर पुनःनिर्माणको क्रममा कङ्क्रिट प्रयोग भएपछि पुनःनिर्माणमा विवाद सिर्जना भएको थियो । बालागोपालेश्वर मन्दिर पुनःनिर्माणको लागि यो पटकसमेत गरी तीन पटक ठेक्का सम्झौता भइसकेको छ । शुरुआती चरणमा मन्दिर र पोखरी पुनःनिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले पाएको थियो । महानगरले यसको पुनःनिर्माणका लागि पहिलो पटक ठेक्कासमेत दिएको थियो ।

महानगरले मन्दिरमा प्राचीन निर्माण सामग्री प्रयोग नगरी सिधै सिमेन्ट, बालुवा, गिट्टी, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि सम्पदा विज्ञ, संरक्षण अभियन्तालगायतले विरोध गरेका थिए । विरोध गरेपछि पुरातत्व विभागले निर्माण रोक्न पत्रचार गरेको थियो ।

विभागले प्राचीन निर्माण सामग्रीको प्रयोग गरी मन्दिर पुनःनिर्माण गर्नु भनेपछि महानगरले आफूसँग यसरी बनाउन सक्ने प्रविधि र जनशक्ति नभएको भन्दै हात झिकेको थियो । महानगरले हात झिकेपछि पुरातत्व विभागले नै निर्माणको जिम्मेवारी लियो । पुरातत्वले दोस्रो पटक ठेक्का सम्झौता भएको थियो । ठेकेदारले मन्दिर पुनःनिर्माणको काम शुरु गरेकै बेला महानगरले पनि पोखरी सौन्दर्यकरणको काम शुरु गर्‍यो । पोखरीमा पुनः कङ्क्रिट हाल्न शुरु गरेपछि विरोध भयो ।

पोखरी निर्माणमा विवाद आएपछि पोखरी र मन्दिरलाई कसरी बनाउने भनेर सुझाव दिन महानगरले विज्ञ टोलीसमेत बनाएको थियो । उक्त टोलीले मन्दिर पुरानै शैलीमा (ग्रन्थकुट/शिखर) बनाउनुपर्ने सुझाव दिएका थिए । महानगरले गठन गरेको विज्ञको सुझाव पुरातत्वले नमानेपछि पुनः विवाद सिर्जना भएको थियो ।

लामो समय विवादका कारण पुनःनिर्माणको काम अघि नबढेपछि मन्त्रिपरिषद्को बैठककले रानीपोखरी र मन्दिर पुनःनिर्माण महानगर र पुरातत्ववाट जिम्मेवारी खोसेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जिम्मेवारी दियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार गत वर्षको माघदेखि प्राधिकरणले पोखरी र मन्दिर दुवै निर्माणको जिम्मा लिएको हो । प्राधिकरणले रानीपोखरी निर्माण उपभोक्ता समितिलाई दिएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने पुल र पोखरी वरपर बगैँचासमेत पुनःनिर्माणको काम ठेकेदारलाई दिएको हो ।

शुरुआती चरणमा पुरातत्वले मन्दिर पुनःनिर्माणको लागि मात्रै रु एक करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा मन्दिरसम्म पुग्ने पुल थिएन । हाल प्राधिकरणले मन्दिर निर्माणका लागि रु १४ करोड २७ हजार ५५७ मा ठेक्का सम्झौता गरेको छ ।

त्यस्तै महानगरले पोखरीको सौन्दर्यकरणसहित रु छ करोडमा ठेक्का सम्झौता दिएको थियो । हाल उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँधमा कालो माटो राख्ने र वरपरको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।

प्राधिकरणले उपभोक्ता समितिमार्फत रु ९ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ ।

रोकियो पोखरी मर्मतको काम

उपभोक्ता समितिबाट पोखरी मर्मतको काम भइरहेता पनि जनैपूर्णिमाबाट काम रोकिएको छ । गत वर्षको शिवरात्रि दिनदेखि पोखरी मर्मतको काम हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

भाइटीकाको दिनमा मर्मत सम्पन्न गर्ने योजनाअनुसार काम भए तापनि हाल आएर मर्मतको काम रोकिएको मानन्धरले जानकारी दिए । उनका अनुसार पोखरीमा हाल तीन फिट उचाइको पर्खाल लगाउने काम भइरहेको छ । पोखरीमा जति मात्रामा काम हुनुपर्ने हो, त्यही मात्रामा भएको छैन । काम ढिला हुँदा उपभोक्ता समितिको खर्चमा मात्रै वृद्धि भएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस