हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ


३ भाद्र २०७६, मंगलबार


pakrau

रौतहट । हातहतियार खरखजना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।

भूमिगत तराई मुक्ति मोर्चाका हतियारधारी समूहमध्येका सहनीले २०६७ सालमा सर्लाहीमा प्रहरीमाथि गोली हानेर ५४ एमएमको चाइनिज पेस्तोल लुटेर फरार भएका थिए ।

सो घटनामा संलग्न रहेका ५ जनाको समूहमध्ये दुर्गा भगवती गाउँपालिका–२ स्थितबाट प्रहरीले दुई जनाको साथबाट कटुवा पेस्तोल एक, गोली एक, खोका दुई थान फेला पारी नियन्त्रणमा लिएको थियो ।

हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई भने सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका सहनीलाई हातहतियार खरखजना मुद्दामा आवश्यक कारवाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइने प्रहरी निरिक्षक नायकले बताए ।

यसैगरी नेपालबाट अवैध रुपमा भारततर्फ अवैध मदिरा (सौफी) लैजाने क्रममा ईशनाथ नगरपालिका–४ का ४५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन १६ गते इशनाथ नगरपालिका–४ स्थित ठूलो लतमरी चौकमा एनएल–०७–७२३६ भारतीय नं प्लेटको बोलेरो गाडी र नं नखुलेको पाँच वटा मोटरसाइकलमा ‘सौफी’ नामक रक्सी लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

उक्त सोफी रक्सीको कारोबार गर्ने सञ्चालक साह फरार रहेकामा पक्राउ गरी उनलाई गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस