प्रशिक्षणका क्रममा दिइने व्यवहारिक एवम् सैद्धान्तिक ज्ञान ग्रहण गर्न दृढ संकल्पित हुनुपर्ने : महानिरीक्षक खनाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रशिक्षणका क्रममा दिइने व्यवहारिक एवम् सैद्धान्तिक ज्ञान ग्रहण गर्न दृढ संकल्पित हुनुपर्ने : महानिरीक्षक खनाल


२ भाद्र २०७६, सोमबार


काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई प्रशिक्षणको क्रममा प्रदान गरिने व्यवहारिक एवम् सैद्धान्तिक ज्ञान, सीप आगामी कार्यक्षेत्रमा अत्यन्तै उपयोगी हुने भएकोले त्यस्ता ज्ञान, सीप पूर्णरुपमा ग्रहण गर्न प्रशिक्षार्थीहरु सकारात्मक सोचकासाथ दृढ संकल्पित हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको १८०औं समूह(PGDPS ११औं ब्याच)को प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई दिएको जिम्मेवारी दृढता पूर्वक सम्पन्न गर्न सक्छु र हरेक दिएका जिम्मेवारीहरु पूर्ण निष्ठाकासाथ पुरा गर्छु भन्ने भावनाको विकास प्रशिक्षार्थीहरुले गर्नुपर्ने बताउँदै संगठनको गरिमा, प्रतिष्ठालाई थप उच्च बनाउनको लागि तालिममा अत्यन्तै निपूर्णताका साथ उत्कृष्टता हासिल गर्नुपर्ने बताए ।

वोली, वचन एवम् व्यवहारमा उत्कृष्ट प्रदर्शन गर्दै शान्ति सुरक्षा कायम राखी राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न जस्तो सुकै चुनौतिको सामना गर्न तयार रहने व्यक्तित्व विकास गर्नेतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।
नेपाल प्रहरीको मेरुदण्डको रुपमा रहेको प्रहरी निरीक्षक दर्जामा सेवा प्रवेश गरी राष्ट्रको सेवा गर्न पाउनु ठूलो अवसर रहेको उल्लेख गर्दै यसको गरिमा र महत्वलाई आत्मसाथ गरी आगामी दिनमा दत्तचित्त एवम् उच्च अनुशासित भएर तालिम निपूर्णतासाथ हासिल गर्न प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिए ।

उपलब्ध साधन स्रोतबाटै अत्यन्तै परिस्कृत खालको प्रहरी सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले तालिममा प्रशिक्षक वर्गले समय सापेक्ष प्रशिक्षण शैलीकासाथ प्रशिक्षण प्रदान गर्दै आगामी दिनमा आउन सक्ने चुनौतिहरुको सामना गर्न सक्ने तथा हरेक किसिमले प्रविधिमैत्री हुन सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले धन्यवाद ज्ञापन गर्दै प्रहरी संगठनले संचालन गर्ने तालिममध्ये प्रहरी निरीक्षक आधारभूत तालिमलाई प्रतिष्ठानले विशेष महत्वकासाथ संचालन गर्नुका साथै गुणस्तरिय प्रहरी जनशक्ति उत्पादन गर्न सदैव कटिबद्ध रहेको बताए । संगठनमा तालिमको विशेष महत्व हुने भएकोले परिश्रमकासाथ अनुशासित, लगनशील एवं मर्यादित रही अपेक्षित सफलता हासिल गर्न उनले प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका निमित्त डिन प्रा.डा. ध्रुब कुमार गौतमले नेपाल प्रहरी देश सेवाको गरिमा बोकेको संगठन भएको उल्लेख गर्दै देशको सेवा गर्ने प्रण र अठोट बोकी संगठनमा प्रवेश गरेका प्रशिक्षार्थीहरुको भविष्य उज्जवल रहेको बताए । व्यवस्थापकीय शिक्षा महत्वपूर्ण र हरेक क्षेत्रमा अतिआवश्यक भएकाले प्रहरी निरीक्षक तालिममा यो समावेश गरिएको उनले चर्चा गरे ।

सो अवसरमा तालिम सम्बन्धी प्रतिवेदन एवम् स्वागत मन्तव्य प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक ९३ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक १५ जना गरी कूल १०८ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेको जानकारी दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालय तथा एन्म्एक् कार्यक्रमका सल्लाहकार प्रा।डा।राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस