मृतकलाई झण्डा जीवितलाई डण्डा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मृतकलाई झण्डा जीवितलाई डण्डा


३२ श्रावण २०७६, शनिबार


नेपाली राजनीतिको राष्ट्रिय नीति के हो भनेर लोकसेवा आयोगले प्रश्न सोधेमा वा राजनीति सेवा प्रवेश परीक्षामा अलिखित प्रश्न कसैले मलाई तेस्र्याएमा म निर्धक्कसँग जवाफ दिनेछु मृतकलाई झण्डा र जीवितलाई डण्डा नै नेपाली राजनीतिको राष्ट्रिय नीति हो भनेर । पाठकहरू जे सुकै भन्नुस् तर मैले यो कुरा राष्ट्रिय झण्डाका बारेमा होइन पार्टीको झण्डाका बारेमा भन्दै छु । नेपाली राजनीतिमा के छैन र ? जे चाह्यो त्यही छ । धर्म कर्मदेखि अपराधसम्म मौलाएर पलाएको छ । गरिब धनी भएका छन्, धनी गरिब भएका छन् । भनौ राजनीतिले राजनीति गर्ने मान्छेलाई उल्टो सुल्टो सबै काम गर्न सिकाएको छ । त्यति नगरी राजनीति गर्नेहरूको धोक्रो पनि भरिन्न र समाजमा नाम पनि कमाइदैन । समाजमा उल्टो नाम कमाइएन भने राजनीति गरेको के अर्थ भो र ?

मान्छे समाजमा जन्मिएर समाजलाई नै छायामा पार्ने गरी समाजको माया मारेर दायाँ वाँया गर्दै बिना लगामको घोडाझैँ भएर हिँडेको छ । राजनीतिमा लगाम वा अङ्कुशको महत्त्व नराख्नेहरू समाजका छाडा साढेझैँ हुन्छन् । उनीहरू राजनीतिलाई कचौरा बनाएर खाने थालमा पिसाब फेर्छन् । पानी खाने ग्लासमा आची गर्छन् भने तरकारी खाने प्लेटमा चुठछन र फेरी त्यसैमा खान्छन् । कति गजबको राजनीति गर्छन् नेपालीहरूले हेर्नुस् त ? विश्वमै नभएको हाडी घोप्टे राजनीति नेपालमा । यो कुरा गिनीज बुकमा लेखाए पनि हुने नि राजनीति गर्नेहरूले । तर राजनीतिगर्नेहरु म जस्तो गोज्याङ्ग्रे छैनन् । टाठाबाठा छन् , खाइलाग्दा ज्यान परेका छन् म जस्तो र्याले, सिँगाने छैनन् त्यसैले राजनीतिका ठाउँमा भाजनीति र लाजनीति पनि गर्छन् । सन्तान दर सन्तान सबै पाल्छन लाजनीतिकै भरले र डण्डे राजनीतिका भरौटेहरु समाजमा साढेझैँ डुक्रिन्छन ।

झण्डाको राजनीतिभन्दा बढी डण्डाको राजनीतिले नेपालमा स्थान पाएको छ । जसका कारण नेपालको राजनीतिक दलहरूको झण्डा दुरुपयोग भएको छ मनपरी तवरले । भनौ नेपालमा बेला कुबेला झण्डाको राजनीति पनि हुन्छ । झण्डाको राजनीति सही तवरले हुने हो भने समाजले भिन्न रूप लिइसकेको हुन्थ्यो होला । तर यहाँ अस्तिदेखि आजसम्म नै झण्डाको राजनीतिले स्थान पाएका कारण झण्डाको दुरुपयोग भएको छ । जिउँदो व्यक्तिसँग राजनीति गर्नेहरूको भन्दा मृतकसँग झण्डाको राजनीति गर्ने दलहरूको बाहुल्यता रहेको छ । समाजमा जतिसुकै राम्रो काम गरे पनि जिउँदोमा मतलब राखिँदैन । देशका लागि उसले गरेको योगदानको मूल्याङ्कन हुँदैन , समाज र राष्ट्रका लागि उसको योगदान अपरिहार्य छ । तर ऊ छायामा पर्छ राज्यबाट र राज्यका निकायहरूबाट अनि राजनीतिबाट पनि । किनभने उसले कुनै राजनीतिक दलको सदस्यता लिएको छैन र लिन चाहँदैन पनि । ऊ लास भएपछि भने दलहरू बिचमा होडबाजी चल्छ उसको मृत शरीरमा आ आफ्नो दलको विकृत र दूषित झण्डा ओढाउन ।

म राजनीति बुझ्दिन र मलाई राजनीति हावा जस्तो लाग्छ । हावामा उडन नसक्ने मान्छे भएकोले होला मैले राजनीति नबुझेको । साँच्चै भन्ने हो भने राजनीतिले हामी मतदातालाई हावामा बेलुनझैँ उडाएर तल खसालेका छन् । हावा भरिएको बेलुन उडाएर माथि पुगेपछि हावा फुस्काएर सास विहीन अवस्थामा तल झारेर फाल्ने राजनीति चलनलाई पालेका छौ हामीले । नेपाली राजनीतिको विशेषता नै हो यो । राज्यको नीति नियमसँग मेलखाने वा राज्यलाई प्रत्येक काममा सहयोग गर्ने राजनीति हुनु पर्ने ठाउँमा राज्यलाई असर पर्ने गरी र समाजलाई घात हुने खालको राजनीतिले राष्ट्रलाई अघि बढन दिइरहेको छैन । भनाँै दलहरूले राजनीतिका नाममा राज्य उपर डण्डा चलाएका छन् र झण्डालाई लुकाएका छन् । लुकाएको झण्डा त्यति बेला निकाल्छन् जो गैर राजनीतिक छ र उसको समाजमा इज्जत मान प्रतिष्ठा छ उसलाई आफ्नो दलको झण्डा ओढाएर लाससँग राजनीति गर्नेहरूको जमातमा हामी हराएका छौ । हामी एकैचोटी दलको लथालिङ्ग झन्डाले बेरिएर चितामा उत्तानो अवस्थामा हुन्छौ । भनौ हामी डण्डेहरु मृत भएपछि झण्डे हुन्छौ । जीवित हुँदा जीवनभरी राज्य र दलहरूबाट झण्डा खाएर बाँचेको मान्छे मृत्यु पश्चात् झण्डाले बेरिएर मरेपछि डुमै राजा भनेझैँ हामी सम्मानित हुन्छौ ।

सम्मानित हुन सबैलाई रहर हुन्छ र मन पनि लाग्छ । कस्तो व्यक्तिको मृत्यु पछि कुनै दलको वा राष्ट्रिय झण्डाओढाएर सम्मान गर्ने वा अपमान गर्ने त्यसको मापदण्ड राजनीतिक दलले वा राज्यले निर्धारण गर्नु पर्छ तर गरेको पाइँदैन । रक्सी खाएर मर्नेलाई पनि यो मेरो दलको योद्धा हो भनेर दलको छलछाम युक्त झन्डा ओढाएको छ । जीउदोमा उसलाई न त्यो दलले न हाम्रो दलको कार्यकर्ता भन्यो न राज्यले नेपाली नागरिक भन्यो । कोही भीरबाट लडेर मर्छन्, कोही दुर्घटनामा परेर मर्छन्, कोही विष खाएर मर्छन्, कसैलाई अपराधीहरूले मार्छन्, कोही झुण्डिएर मर्छन् । कोही डाक्टरले उपचार गर्दा गर्दै मर्छन्, कोही नेतासँग आन्दोलनमा उत्रँदा आफ्नै नेताद्वारा गोली हानेर मारिन्छन् । कोही यातायातका साधनबाट मारिन्छन् । कोही श्रीमतीद्वारा मारिन्छन्, कोही श्रीमान्, बाबु छोरा, हजुर बा आमा दाजुभाइबाट मारिन्छन् त कोही एकापसमा झगडा गरेर मर्छन् । के ती सबैलाई झण्डा ओढाएर सम्मान दिने दलहरूको कुनै नीति नियम छ भने त्यो सार्वजनिक हुनु पर्‍यो । वा राज्यको नै कुनै त्यस्तो मापदण्ड छ भने त्यो पनि सबै जनताले थाहा पाउनु पर्‍यो यो थाहाको देशमा ।

जीउदोमा झण्डा नदेखेकाहरूले मृत्यु पश्चात् झण्डा देख्न पाउनु पनि एउटा ऐतिहासिक घटना नै हो । झण्डा मुनि बसेर डण्डा देख्नु झण्डा देख्न नपाउनु भनेको हामी नेपालीहरूको अहोभाग्य नै हो । मृत्यु जुनसुकै तरिकाले होस झन्डा ओढायो शहीद घोषणा गर्‍यो । तर म चाहिँ के भन्छु भने म जुनसुकै दलबलको वा छलकपटको राजनीतिक हैसियतको भए पनि मेरो मृत्यु पश्चात् मेरो लासमा राष्ट्रियझण्डा बाहेकका दुर्गन्धित झण्डा  ओडाएर मेरो विशुद्ध मृत आत्मालाई प्रदूषित नबनाई दिन म सबैमा लाजनीतिक अनुरोध गर्दछु । राजनीतिक अनुरोध गरुँ भने मेरो राजनीतिक हैसियत नै छैन र राजनीतिले मलाई चिन्दैन । भनौ नेपालाँ जनता चिन्ने हैसियतको राजनीति हुन सकेको छैन । यत्रतत्र लाजनीति मात्रै हुने गरेकोले मेरो लासमा छलकपट युक्त दलबलको झण्डा  ओढाएर म मृतक आफैलाई लाज लागेर आउने सम्भावना बढेकोले लाजनीति अनुरोध गरेको हुँ ।

बाह्रैमहिना बाह्रैकाल मेरो देसमा विभिन्न भेषधारी लाजनीति कर्ताहरूले लासमाथि राजनीति गर्ने गरेको उज्यालो कुरालाई औँसीको रातमा परिणत गर्ने दुष्चक्र नहोस् । जनता जनार्दनको मृत्यु हुँदा यो देशको जनता जनार्दन भएर मर्न पाउन पर्छ । कुनै लाजनीतिक वा आवरण राजनीतिक दलबलको होइन । अर्को कुरा यहाँ लासमाथि गाईजात्रा मनाउने चलनले साँढेहरू रुष्ट भएको कुरालाई बिर्सनु हुँदैन । हामी सर्वसाधारण नेपाली सबैका साझा मतदाता हौ । हामी सामान्य नेपाली नागरिकहरू कुनै दलका हुँदैनौ र हाम्रो मृत्युपछि हामीलाई कुनै पनि दलको झण्डा ओढाएर बखान गर्न वा हाम्रो बारेमा कुनै पनि प्रकारको गीत गाउन पाइँदैन । चेतना भया ।

देश पनि खायौ तिमीले
मेस पनि खायौ तिमीले
भेषधारी हुन्छौ किन
न लुकाई कुरा तिमी
सत्य तथ्य भन ।
सुत्केरी नि तिमी हुने
विजुली नि तिमी चोर्ने
संसद्मा कुर्सी भाँच्ने
ब्रिफकेस नि खोस्ने ।
आफू खुसी साँढे हुन्छौ
नियम कानुन कुल्चिएर
चाहिँदैन यस्ता नेता
बस्छौ बरु छुट्टिएर ।
कुरा गर्छौ अधिकारका
काम भने प्रतिकारका
कस्ता नेता जन्मिएछन्
मोसो दलि खेदनु पर्ने ।
मतदातालाई डण्डा  लाउँछन्
आफू मरे झण्डा ओढछन ।
जालझेल कालो काम नियति नै बाङ्गो
आउँछ दिन घुमीफिरी अनि हुन्छन् नाङ्गो ।

प्रतिक्रिया दिनुहोस