प्रधानमन्त्रीले भने : म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले भने : म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन


३१ श्रावण २०७६, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, भरिभराऊ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गर्दै सोध्नु भयो, म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ? त्यसपछि ताजगीपूर्ण मुद्रामा उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

आफ्नो प्रतिक्षा गरिरहेका झापा क्षेत्र न. ५ का अगुवा कार्यकर्ताहरुलाई पार्टी सचिवालयको बैठकको अध्यक्षता गर्न जानुअघि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न वालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको बिषयमा हिजो चलाइएका निराधार हल्लाहरुको प्रसंग उल्लेख गर्दै भने, ‘हिजो मलाई एकछि ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिए पछि सबै निको भयो । तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने ‘गत हप्ता सिंगापुरमा आँखा,कान,घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।’

प्रधानमन्त्री ओलीले आफू १५ बर्ष अघि बिरामी भएको र १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको स्मरण गरे । ‘म अहिले होइन ,१५ बर्ष अघि विरामी थिंए । १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।’ प्रधानमन्त्री ओलीले भने’मलाई विरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । विरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकिकरण गरें ।’

नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिक पार्क निर्माण हुन लागेकोमा सबैलाई बधाइ दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस