बेवारिस कर्मचारीलाई समायोजित भएकै निकायमा हाजिर गराउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बेवारिस कर्मचारीलाई समायोजित भएकै निकायमा हाजिर गराउने


२७ श्रावण २०७६, सोमबार


समायोजन

काठमाडौँ । हाजिर नगराई फिर्ता पठाएका कर्मचारीहरूलाई सम्बन्धित स्थानीय तहमा नै हाजिर गराइने भएको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन रोजेका कर्मचारीलाई केही स्थानीय तहले हाजिर नगराई फिर्ता पठाएपछि सयौँ कर्मचारी बेवारिसे बन्न पुगेका थिए ।

काठमाडौँ महानगर, ललितपुर महानगर, भक्तपुर नगरपालिका, शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरासहित उपत्यकाका स्थानीय तहले उपसचिव देखि कार्यालय सहयोगीसम्मका १ सय २० भन्दा बढी कर्मचारीलाई हाजिर गराउन नमानेपछि सामान्य प्रशासनको बरण्डामा बसेर हाजिर गर्दै आएका थिए ।

ठाडो हाजिरीका आधारमा मन्त्रालयबाटै तलब भत्तालगायत सेवा सुविधा बुझ्दै आएका कर्मचारीलाई साउन १९ देखि मन्त्रालयले पनि हाजिर नगराएपछि उनीहरू आन्दोलित भएका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता भूपाल बरारले फिर्ता पठाइएका कर्मचारीलाई समायोजन भएकै कार्यालय खटाउने पहिलो प्राथमिकता रहेको बताए ।

सकेसम्म त्यही हाजिर गराउने प्रयासमा मन्त्रालय छ, उनले भने, स्थानीय तहलाई नै दबाब दिएर अनुदान रोक्नेसम्मको कुरा भएको छ ।

कर्मचारीलाई कुनै न कुनै रूपमा व्यवस्थापन गर्नुपर्ने भएकोले त्यसबाहेकका विकल्पका विषयमा अहिले नै छलफल भई नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस