बेझाड । राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन ।
प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभार प्रावि तहका स्थायी शिक्षक हुमबहादुर रानालाई दिइएको छ ।
नयाँ प्रअ नियुक्ति राजनीतिक विवादले विद्यालयले व्यवस्थापन गर्न सकेको छैन । समितिका अध्यक्ष मीनबहादुर पुलामीले शिक्षा ऐन नियमावलीअनुसार नभई सहमतिमा प्रअ नियुक्ति गर्ने प्रयास गरेको र समितिभित्रै सहमति हुन नसक्दा समस्या भएको बताए ।
“ऐन नियमावलीभन्दा पनि सहमतिबाटै टुङ्ग्याउने कोसिस गरेका हौँ, यस विषयमा ८÷१० पटक समितिको बैठक बस्यो तर निष्कर्षमा पुग्न सकिएको छैन”, उनले भने । प्रअको दाबेदारका रुपमा मावि तहमा कार्यरत स्थायी शिक्षक भेषबहादुर अधिकारी, अशोक सिं, निमावि तहमा कार्यरत स्थायी शिक्षक खडानन्द पाण्डेय, जगनाथ लम्साल र प्रावि तहका स्थायी शिक्षक (हाल निमित्त प्रअ) हुमबहादुर राना छन् ।
विद्यालयको नाममा चौमासिकको तलब आइसकेको छ तर प्रअको टुङ्गो नलाग्दा शिक्षकले असार मसान्तभित्रै बुझ्ने तलब अहिलेसम्म बुझ्न नपाएको शिक्षक भेषबहादुर अधिकारी बताउँछन् । “लामो समयसम्म समितिले राजनीतिक द्वन्द्व गरेर प्रअको टुङ्गो लगाउन सकेको छैन, शिक्षा ऐन नियमावलीबमोजिम प्रअ नियुक्ति हुनुपर्छ, नियम र कानून मिचेर नियुक्ति गर्न पाइने छैन”, उनले भने । विद्यालयको नाममा रहेको खातामा छात्रवृत्ति, शैक्षिक सामग्रीका लागि आएको रकम पनि झिक्न पाइएको छैन ।
लेखापाल गोविन्द पाण्डेय र अध्यक्ष मीनबहादुर पुलामीको नाममा खाता सञ्चालन गरेर शिक्षक कर्मचारीलाई तलब खुवाउने मौखिक जानकारी भएको थियो पछि फेरि समितिमै विवाद परेपछि रकम झिक्न समस्या परेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले प्रअ नियुक्तिको बारेमा शाखाले पटकपटक अनुरोध गरिरहेको र लामो समय बितिसक्दा पनि राजनीतिक विवादमा समिति अल्झिरहेको बताए।
विद्यालयमा प्रअ नियुक्तिका विषयमा दुई पटकसम्म कार्यालयबाट पत्र पठाइ सक्दा पनि नियुक्ति प्रक्रियामा आलटाल भइरहेको र शिक्षा ऐन नियमावलीअनुसार नै कार्यरत शिक्षकको विशिष्टताको आधारमा नै प्रअ नियुक्ति हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए।
राजनीतिक विवाद गरेर समिति अल्झनभन्दा शिक्षा ऐन नियमावलीअनुसार काम गर्न वडा कार्यालयले पनि समितिलाई अनुरोध गरिरहेको र समितिको विवादले शिक्षक कर्मचारीले समयमा नै तलब बुझ्न नपाएको निस्दी गाउँपालिका– १ का अध्यक्ष पूर्णबहादुर खाँणले बताए।
विद्यालयमा १९ जना शिक्षक कर्मचारी कार्यरत छन् ।







