गणतान्त्रिक शक्ति मिलेर मुलुकलाई समृद्ध बनाउनुपर्छ : अध्यक्ष दाहाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गणतान्त्रिक शक्ति मिलेर मुलुकलाई समृद्ध बनाउनुपर्छ : अध्यक्ष दाहाल


२४ श्रावण २०७६, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताएका छन् ।

शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कवि दीनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो परिवर्तनलाई संस्थागत गर्नु बाहेक अर्को विकल्प छैन, अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउछ कि भन्नुको कुनै अर्थ छैन ।’अध्यक्ष दाहालले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे । हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत पूरा भएकाले जनतामा देखिएको आशा र निराशा दुवैलाई आत्मसात् गरेर आफूहरु अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाज रुपान्तरण गर्ने शक्तिशाली औजारका रुपमा साहित्य रहेको बताए । उनले कम्युनिष्ट आन्दोलनले वर्तमान समयको समस्यालाई बोधगरी सुन्दर भविष्यको परिकल्पना गर्न लाग्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ठूला सपना देखाएर साना काम पनि नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने र देशलाई प्रयोगथलो बनाउन नहुनेमा जोड दिए । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार माधवप्रसाद पोखरेल, प्रा राजेन्द्र सुवेदी, तेजेश्वरबाबु ग्वङ्ग, डा.बेञ्जु शर्मालगायतले कृतिका लागि शर्मालाई र पत्रिकाका निम्ति प्रतिष्ठानलाई शुभकामना दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले साहित्य र राजनीतिलाई अन्तरघुलन बनाएर जानुपर्ने आवश्यकता रहेको उल्लेख गरे । संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस