सवारी कारवाहीबाट रु ९१ लाख राजश्व सङ्कलन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सवारी कारवाहीबाट रु ९१ लाख राजश्व सङ्कलन


२४ श्रावण २०७६, शुक्रबार


बेझाड । गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५/७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका ४ हजार २६७ ट्रक र मिनी ट्रकबाट रु २५ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार १७७ बस र मिनी बसबाट रु १८ लाख ९२ हजार, तीन हजार २१८ जीप, कार, भ्यान र माइक्रोबाट १८ लाख ८१ हजार, एक हजार ५४७ ट्रयाक्टरबाट रु ९ लाख २५ हजार २५ तथा २ हजार ८३९ मोटरसाइकलबाट रु १८ लाख ४९ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।

आवश्यक कागजपत्र नबोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा सामान ओसारपसार गर्ने सवारी चालक कारवाहीमा परेको उनले बताए ।

उनले भने,’ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् ।’

आव ०७४/७५ मा १२ हजार ८३० सवारी साधनको कारवाहीबाट रु ७९ लाख २५ हजार राजश्व सङ्कलन भएको थियो ।

सो अवधिमा कारवाहीमा परेका तीन हजार ७७० ट्रक र मिनी ट्रकबाट रु २२ लाख २३ हजार, २ हजार ७१ बस र मिनीबसबाट रु १२ लाख ३७ हजार, दुई हजार ६४८ जीप, कार, भ्यानबाट रु १५ लाख ९४ हजार, ९९३ ट्रयाक्टरबाट रु ५ लाख ६८ हजार ५००, ३ हजार ३३९ मोटरसाइकलबाट रु २१ लाख २२ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।

ट्राफिक प्रहरी कार्यालय पाल्पाले बेलाबेलामा सरोकारवालासँग पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । तर जिल्लामा सवारी साधन बढ्दै जानु र नियम मिचेर सवारी चलाउने गर्दा राजश्व बढ्दै गइरहेको पाइएको छ ।

धमाधम जनचेतना तर व्यवहारमा शून्य

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका हुन् । विद्यालयस्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

ट्राफिक प्रहरीले विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराउँदै आएको छ तर पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन ।

ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ ।

अक्षयकोष स्थापना

पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफ्नो ४८ औँ जन्मदिनको अवसरमा अपाङ्गता भएका बालबालिकाको नाममा अक्षयकोष स्थापना गरेका छन् ।

अपाङ्गता भएका बालबालिकालाई पढाउँदै आएको तानसेनको सिबिआर विद्यालयका बालबालिकाका लागि बिहीबार रु दश हजार बराबरको अक्षयकोष स्थापना गरी जन्मोत्सव मनाएका छन् ।

सो अवसरमा गरिने फजुल खर्च गरीब, विपन्न, अपाङ्गता भएका व्यक्तिको पठनपाठनमा खर्च गरियो भने उनीहरुको भविष्यमा ठूलो सहयोग मिल्ने भएकाले सहयोग गरेको अध्यक्ष बस्यालले बताए ।

अध्यक्ष बस्यालले आफूले पाएको तलब भत्तासमेत सामाजिक क्षेत्रमा खर्चंदै आएका छन् । “पाँच वर्षसम्म आफूले बुझ्ने तलब भत्ता सामाजिक क्षेत्र, गरीब, दुःखी, विपन्न, अपाङ्ग बालबालिकाका लागि खर्चनेछु”, उनले भने । बस्यालले विद्यालयमा रहेका दश जना अपाङ्गता बालबालिकालाई फलफूलसमेत वितरण गरेका छन् ।

नारायण युवा क्लब तानसेनका सचिव प्रवीनराज शाक्यले पनि आफ्नो जन्मोत्सवका अवसरमा विद्यालयमा रु ५ हजार अक्षयकोष स्थापना गरिदिएका छन् ।

विद्यालयका अध्यक्ष राजेन्द्रमुनि शाक्यले अध्यक्ष बस्याल र शाक्यले सामाजिक हितका लागि गरेको कार्यको धन्यवाद दिँदै यसरी सबैबाट सहयोग पाएमा अपाङ्गता भएका बालबालिकाको पठनपाठनमा सजिलो हुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस