वनमन्त्रीद्वारा पशुपति क्षेत्रमा वृक्षरोपण - प्रशासन प्रशासन

वनमन्त्रीद्वारा पशुपति क्षेत्रमा वृक्षरोपण


प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १३:५४

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले शुक्रबार पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

भूसंरक्षण दिवसका अवसरमा सो क्षेत्रमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षरोपण गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय संरक्षण र सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै वातावरणीय दुष्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा समीलगायत विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको थियो । कोषको सचिवालयका प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले रोपिएका बिरुवाको संरक्षण कोषले गर्ने जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा घोषणा गरी यस अवधिमा मुलुकभर एक नेपाली एक फलफूलका बिरुवासहित कम्तीमा पाँच करोड बिरुवा रोपण गरी हुर्काउने महाअभियान सञ्चालन गरेको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस