प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते


२२ श्रावण २०७६, बुधबार


काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।

युनियनले हालसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । युनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा रहेको महासचिव शिवाकोटीले जानकारी दिए ।

यसैगरी बैठकले युनियनको केन्द्रीय सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा.सुरेश आचार्य, युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समीरजङ्ग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले दुवै मिर्गौला फेल भई उपचाररत युनियनका ललितपुर शाखा संस्थापक अध्यक्ष बटुकृष्ण कार्कीको उपचारका लागि सक्दो सहयोग गर्न सबै शाखाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस